YouTube Link

नेपालको कराँतेले दुई दशकभन्दा बढी समयदेखि सदस्यता नवीकरण गरेन

Facebook Link

काठमाडौंः नेपालको कराँते वल्र्ड कराते फेडेरेसन (डब्लूकेएफ) मातहतमा रहेको छ ।

 

फौजी संगठनमा मात्र सीमित नेपालको कराँते २०३८ साल देखि सर्वसाधारणको पहुँचमा पुगेयता नेपालमा कराँते खेलले व्यापकता पाउन थाल्यो ।

 

सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा सबैभन्दा धेरै पदक जितेर कीर्तिमान बनाउनु भन्दा अगाडि एसियाली तथा विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले आफ्नो प्रभाव विस्तार गरिसकेका थिए ।

 

नेपालको कराँते जति गर्विलो इतिहास छ त्यति नै नालायक नेतृत्व छ ।

 

अन्तर्राष्ट्रिय च्याम्पियनसिप देखि एसियाली खेलकुदसम्मको सहभागिता नेपालले डब्लूकेएफकै छातामा रहेर खेल्ने गर्छ र खेलिरहेको छ ।

 

तर नेपालले २३ वर्षदेखि डब्लूकेएफमा आफ्नो सदस्यता नवीकरण गरेको छैन ।

 

ओलम्पिक इतिहासमा पहिलोपल्ट आसन्न टोकियो ओलम्पिकमा कराते समावेश गरिएको छ ।

 

छनोट प्रतियोगितामा सहभागी हुन नपाएका नेपाली खेलाडीहरू वाइल्ड कार्डको प्रतीक्षामा छन् ।

 

नवीकरण नभएकै कारण नेपालले वाइल्ड कार्ड नपाउने हो कि भनेर चिन्ता सुरु भएको छ ।

 

प्रशिक्षक तथा दक्षिण एसियाली खेलकुदमा कराँतेबाट दुई स्वर्ण जितेका दीपक श्रेष्ठले सामाजिक सन्जालमार्फत डब्लूकेएफमा नवीकरण नभएकै कारण वाइल्ड कार्डको आस कमजोर हुन थालेको जनाउ दिएका थिए ।

 

नवीकरण शुल्क नबुझाउने खेल संघलाई वाइल्ड कार्ड दिनुपर्ने आधारमा शंका गरिएको थियो ।

 

यद्यपि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालले कराँतेमा भाग लिएको थियो ।

 

नेपाल कराँते महासंघ नै बेखबर

 

डब्लूकेएफमा कहिलेदेखि नवीकरण छैन भन्नेबारे नेपाल कराते महासंघलाई नै आधिकारिक जानकारी छैन ।

 

हरेक वर्षको नवीकरण शुल्क र समयमै नतिर्दाको जरिवाना थपिँदै जाँदा अहिले नेपालले तिनुपर्ने रकम ४५ हजार ५९ स्विस फ्य्रांक ५६ लाख रुपैयाँ भन्दा बढी छ ।

 

सन् १९९८ मा नै नेपालले डब्लूकेएफलाई तिर्नुपर्ने रकम ८ हजार ५ सय ४५ स्विस फ्य्रांक थियो ।

 

यसको अर्थ त्यो समय अगाडिका नेतृत्वले पनि नवीकरण गरेका रहेन छन् ।

 

त्यतिबेला वार्षिक १३ सय स्विस फ्य्रांक शुल्क थियो ।

 

नियमित नतिर्दा हरेक वर्ष १५ प्रतिशतको दरले जरिवाना लागेको छ ।

 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालको कराँते महासंघका अध्यक्ष रहेका पुरेन्द्रविक्रम लाखेले कान्तिपुरसँग भने, २०२१ को समेत शुल्क जोडेर हामीले डब्लूकेएफलाई ४५ हजार ५९ स्विस फ्य्रांक तिर्न बाँकी छ ।

 

अहिले नवीकरण शुल्क १५ सय स्विस फ्य्रांक छ हरेक वर्ष  ५ सय जरिवाना पनि जोडिन् ।

 

२३ वर्षसम्म  नवीकरण हुन नसक्नुको कारण के हो ?

 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेको तर्क छ ।

 

‘जसले तिर्छु भनेर पैसा लिएका थिए, उनीहरूले तिरेन्न ।’

 

नेपालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताप्राप्त कराते महासंघको विवाद सुरु भएको एक दशक हुन लाग्यो ।

 

त्यो भन्दा अगाडि पनि जिम्मेवार व्यक्तिहरूले रकम फर्स्योट नगरेको लाखेको आरोप छ ।

 

उनी अध्यक्ष बन्नुअधि शरदसिंह भण्डारी, थानेश्वर राई लगायतले कराते महासंघको नेतृत्व लिएका थिए ।

 

कराते महासंघको विवाद सुरु हुनु भन्दा अगाडिसम्म म नेतृत्वमा थिइन ।

 

त्यसैले नवीकरण शुल्क कसरी तिरिएन भन्नेबारे भन्न सक्दिनँ ।

 

अध्यक्ष लाखेले भने, ‘हामी नेतृत्वमा आएलगत्तै राखेपले राष्ट्रिय मान्यताको अर्को महासंघ बनाइदियो ।

 

राष्ट्रिय मान्यता प्राप्त महासंघका केही पदाधिकारी राखेपबाट आउने अनुदान रकम नवीकरण गर्न पैसा छुट्याउने ।

 

तर तिर्नुपर्ने ठाउँमा नपुर्याउने जस्ता गैरजिम्मेवारी काम भए ।

 

अध्यक्ष लाखेले वार्षिक नवीकरण शुल्क नबुझाउनुको विकल्प नरहेको पनि प्रस्ट पारे ।

 

हामीले ५६ लाखभन्दा बढी तिर्नु पर्ने भएको छ ।

 

यसबारे सबैलाई जानकारी गराएको छु ।

 

अहिलेसम्म डब्लूकेएफले हामीलाई ‘रेड लिस्ट’ मा राखेको छैन ।

 

यदि निलम्बनसम्मको कारबाही गर्यो भने पैसा तिरे पनि पाँच वर्षसम्म कुनै पनि आधिकारिक प्रतियोगितामा सहभागी हुन दिँदैन।

 

पैसा नतिरेकै कारण महासंघलाई खारेज नगर्ने उनको दाबी छ ।

 

अध्यक्ष लाखेले नवीकरण बक्यौता चुक्ताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयमा जानकारी गराउँदा आफू आजित भएको बताए ।

 

सबै रकम हामीले एकैपल्ट बुझाउन सक्दैनौं भने किस्ता किस्तामा बुझाउन सक्छौं ।

 

यसरी नतिर्दै जाने हो भने चाहिँ जुनसुकै बेला निलम्बनमा पर्न सक्छौं, उनले कान्तिपुरसँग भने ।

 

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले भने कुनै पनि राष्ट्रिय खेल संघलाई उनीहरूको अन्तर्राष्ट्रिय फेडेरेसनमा नवीकरण गराउन राखेपले बजेट नछुट्याउने प्रस्ट पारे ।

 

‘सम्बन्धित खेलको अन्तर्राष्ट्रिय फेडेरेसनमा नवीकरण गर्ने, नगर्ने कुरा राखेपको क्षेत्राधिकारमा पर्दैन ।

 

मसँग कराते महासंघको आर्थिक सहयोगको माग सहितको पत्र डेढ महिनाअघि आएको थियो ।

 

मैले फाइल मन्त्रालय पठाएको छु, सदस्य सचिव सिलवालले भने ।

 

राखेपले नै गठन गरेको विवाद समाधान उपसमितिले २०७५ फागुनमा तीन महिनाभित्र निर्वाचन गर्ने गरी शम्भु आचार्यको संयोजकत्वमा करातेको तदर्थ समिति गठन गरेको थियो ।

 

समितिले तीन महिनाभित्र निर्वाचन गर्न असमर्थ रह्यो ।

 

त्यसपछि १३ औं दक्षिण एसियाली खेलकुद नजिक आएकाले राखेपकै निर्देशनमा निर्वाचन १३ औं सागपछि गर्ने भनियो ।

 

साग लगत्तै कोरोना भाइरस महामारी सुरु हुँदा २ वर्षभन्दा बढी समय भइसक्दा पनि करातेको सार्थक एकीकरण भएको छैन ।

 

राष्ट्रिय मान्यता प्राप्त महासंघका अध्यक्ष दावा गुरुङले भने नेपाल ओलम्पिक कमिटी मार्फत डब्लूकेएफमा पुगेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी नै नवीकरण नगराउनुको जिम्मेवार रहने दाबी गरे ।

 

हामीलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता छैन ।

 

मान्यता नभएको महासंघले नवीकरण गर्छु भनेर पनि नहुने रहेछ, गुरुङले भने ।

 

‘वाइल्ड कार्डको प्रक्रिया छुट्टै’

 

अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष लाखे बाहिर हल्ला गरिए जस्तो डब्लूकेएफमा नभएको नवीकरणकै कारण टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्तिमा प्रभावित नहुने बताउँछन् ।

 

हाम्रा प्रशिक्षक साथीहरूले नै यसबारे भ्रम फैलाइरहेको देख्दा मलाई अचम्म लागेको छ ।

 

लाखेले भने: ‘हामीले ओलम्पिकमा वाइल्ड कार्ड पाउने विषय डब्लूकेएफमा नवीकरण नगरिएकोसँग सम्बन्धित  छैन । त्यसको छुट्टै प्रक्रिया हुन्छ ।

 

म आफैं ऐतिहासिक ओलम्पिकमा नेपालको सहभागिता सुनिश्चित गर्न प्रयासरत छु ।

 

ओलम्पिकको शताब्दी लामो इतिहासमा कराते खेल समावेश भएको पहिलोपल्ट हो ।

 

छनोट प्रतियोगिताबाट सम्भव नभएपछि वाइल्ड कार्डको तयारीमा रहेका खेलाडी र प्रशिक्षकहरू ऐतिहासिक अवसरबाट वञ्चित हुनेमा सशंकित छन् ।

 

अध्यक्ष लाखेले अन्तर्राष्ट्रिय रूपमा संघ बेइमान देखिए पनि खेलाडीको अवसर र अधिकार खोसिन नदिने प्रतिवद्धता जनाए ।

 

लामो समयदेखि महासंघ नवीकरण नभए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी वञ्चित भएका छैनन् । ओलम्पिकमा पनि त्यस्तो हुँदैन: उनले थपे ।

 

राष्ट्रिय मान्यताप्राप्त महासंघका तत्कालीन अध्यक्ष दावा गुरुङले पनि ओलम्पिक सहभागिताका लागि फेडेरेसनको नवीकरणले कुनै समस्या नहुने दाबी गरे ।

 

एकीकरण पछि नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय कराते फेडेरेसनमा अपटेड नगरिदिएको पनि बताए।

 

ओलम्पिक कमिटीले निर्वाचन पछि अपटेड सहितको जानकारी दिने भनेको थियो । अहिलेसम्म चुनाव नै हुन सकेन: उनले भने ।

 

ओलम्पिकको तयारीका लागि करातेबाट अनु अधिकारी र नवीन रसाइली वाइल्ड कार्डको आसमा प्रशिक्षणरत छन् ।

विश्व वरीयतामा अंक नपुगेका कारण उनीहरू छनोट प्रतियोगितामा भने सहभागी हुन पाउँदैनन् ।

 

उनीहरूलाई सागका स्वर्ण विजेता प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् ।

 

राम्रो सम्भावना, प्रतिभा र लोकप्रियता हुँदाहुँदै पनि ओलम्पिकमा छनोट हुन नसकेका खेलाडी र सम्बन्धित देशलाई खेलकुदको महामेलामा समेट्न वाइल्ड कार्डको व्यवस्था गरिएको हुन्छ ।

 

टोकियो ओलम्पिकमा कराते खेलका लागि विश्वभरबाट २ पुरुष र २ महिला खेलाडीको कोटा छुट्याइएको छ ।

 

उक्त कोटा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ओलम्पिक आयोजक देश र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको समन्वयमा वितरण गरिन्छ ।

 

लामो समयदेखि नवीकरण नभएको देशका खेलाडीले वाइल्ड कार्ड नपाउने खतरा रहेकोतर्फ प्रशिक्षक श्रेष्ठले सजग गराएका थिए ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...