नेपाली क्रिकेटरको तलब आईसीसीले यसै साता पठाउने
वि.सं.२०७७ भदौ ७ आइतवार १६:२२
1.8K
shares
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले विगत डेढ वर्षदेखि नपाएको तलब यसै साताभित्र पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले यसै साताभित्र आईसीसीले खेलाडीहरुको रोक्किएको तलब पठाउने जनाएको हो ।
राष्ट्रिय टोलीका खेलाडीहरुले सन् २०१९ देखि आफ्नो नियामित तलब पाएका छैनन् । क्यानले गत बुधबार आईसीसीलाई लामो समयदेखि खेलाडी तलब नपाएको र तलब बढाएर तत्काल पठाउन माग गर्दै आईसीसीलाई पत्र पठाएको थियो ।
आईसीसीले त्यसअघि खेलाडीहरुको हस्ताक्षर सहितको मागपत्र पठाउन क्यानलाई आग्रह गरेको थियो । क्यानको खेलाडीहरुको तलब बढाउने मागपत्रलाई आईसीसीले सहर्ष स्वीकार्दै यसै साताभित्र खेलाडीहरुको बाँकी रहेको तलब पठाउने भएको हो ।
क्यानले नेपालका ए, बी र सी श्रेणी गरी २३ जना खेलाडीहरुको हस्ताक्षर सहितको पत्र आईसीसीलाई पठाएको थियो । आईसीसीले २०१९ का लागि ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ तोकेको थियो । तर अब क्यानको अनुरोधमा आईसीसीले सबै श्रेणीका खेलाडीहरुको पारिश्रमिकमा १० हजार बढाएर पठाउने छ ।
वि.सं.२०७७ भदौ ७ आइतवार १६:२२



















