सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स र ससुओलोले खेले बराबरी
वि.सं.२०७७ साउन १ बिहीवार ०९:२०
1.3K
shares
एजेन्सीः सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले ससुओलोसँग बराबरी खेलेको छ ।
ससुओलोको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा युभेन्ट्सले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई समेत युभेन्ट्सले खेलमा जोगाउन सकेन । छैटौ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।
घरेलु टोलीका फिलिप ज्यूरिकले २९ औं मिनेटमा खेल २–१ मा झारे । डोमनिको बर्दीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए । युभेन्ट्सका एलेक्स सान्ड्राले ६४ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।
बराबरीको नतिजासंगै युभेन्ट्सले लिगमा ७ अंकको अग्रता कायम राखेको छ । युभेन्ट्सले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । शीर्ष स्थानको युभेन्ट्सको ७७ अंक छ । ससुओलो ४७ अंक सहित आठौं स्थानमा यथावत छ ।
वि.सं.२०७७ साउन १ बिहीवार ०९:२०




















