विश्वकप फुटबल छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव
वि.सं.२०७७ जेठ २४ शनिवार ०९:०१
1.5K
shares
काठमाडौं: एएफसीले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ । एएफसीले फिफासँग परामर्श गर्दै कोरोना भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव अघि सारेको हो ।
छनोट अन्तर्गत नेपालले ३ घरेलु खेल खेल्न बाँकी छ । यसअघि जुनमा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । एएफसीले अक्टोबर र नोभेम्बरमा खेल गर्नेगरी फिफासँग निर्णय मागिरहेको छ । एएफसीले सार्वजनिक गरेको प्रस्तावित मिति अनुसार म्याचडे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् । यस्तै म्याचडे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ । यस अघि मार्च र जुनमा हुने तय भएपनि कोरोनाको कारण छनोट खेलहरु स्थगित गरिएको थियो ।
छनोट अन्तर्गत नेपालले अब अष्ट्रेलिया, चाईनिज ताईपे र जोर्डन सँग घरेलु मैदानमा खेल्न बाँकी छ । चारवटै अवे खेल खेलिसकेको नेपालले दशरथ रंगशालाको पुर्नःनिर्माण समयमा नहुँदा कुवेतसँगको घरेलु मैदानमा हुने भनिएको खेल भुटानमा खेलेको थियो । छनोटमा नेपालले अहिलेसम्म एकमात्र जित निकालेको छ । छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।
वि.सं.२०७७ जेठ २४ शनिवार ०९:०१



















