अबरुद्ध बुन्डेसलिगा आजबाट हुँदै, खेल दर्शक विना बन्द रंगाशालामा हुने
वि.सं.२०७७ जेठ ३ शनिवार १६:२०
1.2K
shares
एजेन्सीः कोरोना भाईरस महामारीका कारण स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज सुरु हुँदैछ । कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुन सुरु हुन लागेको हो ।
बुन्डेसलिगा कोरोनापछि सुरु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो । फ्रान्सको लिग वान रद्द भएको अवस्थामा बुन्डेसलिगा भने सुरु हुन लागेको हो । शनिबार लिगमा विभिन्न ६ खेल हुनेछ । सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ । नेपाली समय अनुसार साँझ सवा ७ बजे पाँच खेल हुनेछ ।
पहिलो दिनको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले शाल्केसँग घरेलु मैदानमा खेल्नेछ । डर्टमण्ड लिगको दोस्रो स्थानमा छ । शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न लक्ष्य सहित मैदान उत्रनेछ ।
युरोपेली क्लब फुटबलमा सर्वाधिक माग रहेका दुई युवा खेलाडी ईर्लिङ हाल्याण्ड र जोडन साञ्चो डर्टमण्डको जर्सीमा मैदान उत्रनेछन् । डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ । वायर्नको ५५ अंक रहेको छ । ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ ।
सोही समय अग्स्बर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम खेलमा राति सवा १० बजे फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ ।
वि.सं.२०७७ जेठ ३ शनिवार १६:२०




















