सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भए नभएको विषयमा थप अनुसन्धान सुरु: स्वास्थ्य मन्त्रालय
वि.सं.२०७७ जेठ ३ शनिवार १७:४८
1.1K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोककी महिलाको कोरोनाका कारण मृत्यु भए नभएको विषयमा थप अनुसन्धान सुरु गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले महिलाको मृत्युको कारणको विषयमा अनुसन्धान सुरु भएको बताए । उनले कारण निश्चित भएपछि मन्त्रालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गर्ने प्रष्ट पारे ।
‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरण लिइराखेका छौँ । कोभिड-१९ सँग सम्बन्धित थप विवरण लिइराखेका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘यो परीक्षणको सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारीक रुपमा कोभिड-१९ सँग सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निक्यौल गरेर प्रशारण गर्ने सबैलाई जानकारी गराउँछु ।’
मृतक महिलाको धुलिखेल अस्पतालको ल्याबमा भएको पीसीआर र आरडीटी परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । यस विषयमा अनुसन्धानका लागि मन्त्रालयले अस्पताल सिल गरेर अनुसन्धान सुरु गरेको हो । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार शनिबार थप दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।
प्रवक्ता देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको देवकोटाको भनाइ छ । २ सय २४ पुरुष संक्रमित छन् भने ५४ महिला छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ । ३ सय २० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
वि.सं.२०७७ जेठ ३ शनिवार १७:४८




















