SEE मा सामाजिक विषयका प्रश्नको विशेषता र उदाहरण
वि.सं.२०७९ फागुन ९ मंगलवार १५:१४
6.8K
shares
स्नेही SEE परीक्षार्थी विद्यार्थीभाई बैनीहरु
हामीले अघिल्लो अंकको लेखमा SEE मा सामाजिक विषयका प्रश्नलाई कसरी विभाजन गरिएको हुन्छ र ती कस्ता प्रकृतिका हुन्छन् भन्ने बारेमा छोटकरीमा छलफल गरेका थियौं । आजको यस अंकमा हामी ती मध्ये उच्च दक्षता अन्तर्गत सोधिने प्रश्नहरुको बारेमा छलफल गरी नमुना प्रश्नहरु संकलन समेत गर्नेछौं ।
उच्च दक्षता भन्नाले समालोचनात्मक चिन्तन, विश्लेषण, तर्क, मूल्य, अभिवृत्ति जस्ता सिपमा आधारित प्रश्नहरु समायोजन गरिन्छन् । त्यस्ता प्रश्नहरु पाठको सन्दर्भमा पाठ्यक्रमको उद्देश्य अनुरुप हुने गरि समाजको वर्तमान परिवेशमा भए घटेका घटना, परिस्थिति आदिसँग जोडेर बनाईन्छ । यस वर्गका प्रश्नहरु अधिकांस छोटा र यदाकदा अति छोटा र लामो उत्तर दिनुपर्ने हुनसक्छन् ।
तल यस वर्ष सोध्न सकिने केही सम्भाव्य प्रश्नहरु उदाहरण स्वरुप संकलन गरिएका छन् । ती प्रश्नको उत्तर सकेसम्म मौलिक भाषा शैली, तर्क, ज्ञान, सिप लगाएर न त धेरै लामो न त धेरै छोटो तर उचित, प्रश्नले मागे अनुसार लेख्ने प्रयास गरौं । आफ्नो प्रयासलाई शिक्षक मार्फत अझ परिष्कृत र सटीक पार्ने प्रयत्न गरौं । यसैगरी ती सम्बन्धित इकाई र पाठबाट अरु थप प्रश्नहरु संकलन गर्ने प्रयास पनि गरौं ।
तल दिईएका प्रश्न राम्ररी अध्ययन गरी उचित उत्तर लेख्ने प्रयास गरौं ।
(१) हाम्रो देशमा छरिएर रहेका सक्रिय युवा जनशक्ती र रोजगारीको अवस्था कस्तो छ ? त्यसता मानव समसाधनलाई उचित व्यवस्थपान गरी रोजगारीका अवसर सिर्जना गर्न आवश्यक पर्ने कुनै चार उपायहरु छोटकरीमा समावेस गर्नुहोस् ।
(२) गरीबीले मानव विकास सुचाङ्कमा कस्तो असर पार्दछ ? नेपालको मानव विकास सुचाङ्कमा यथेष्ट बृद्धी हुन नसक्नुका कुनै चार कारणलाई बुँदामा लेख्नुहोस् ।
(३) संघीयताले हाम्रो देशको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पारेको छ भन्ने आवाज जनस्तरबाट सुनिन थालेको छ । त्यस्ता जनसमुदायलाई तपाईको के सुझाव छ ? छोटकरीमा लेख्नुहोस् ।
(४) धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई उदाहरण सहित प्रष्ट पार्नुहोस् र लुम्बिनी क्षेत्रको विकासले हाम्रो देशको पर्यटन प्रवर्द्धनमा कसरी मद्दत पुर्याउँछ ? कुनै चार उपायहरु समावेस गर्नुहोस् ।
(५) यसै वर्ष २०७९ फागुन १ गतेदेखि मनाउन थालिएको जनयुद्ध दिवस र फागुन ७ गते मनाईने प्रजातन्त्र दिवसका दुई दुई वटा विशेषता लेख्नुहोस् । यी दुई राष्ट्रिय दिवसको औचित्यलाई छोटकरीमा वर्णन गर्नुहोस् ।
(६) हाम्रो समाजमा जेष्ठ नागरिकले भोग्नु परेका कुनै दुई आर्थिक सामाजिक तथा पारिवारिक समस्याहरु पहिल्याई त्यस्ता समस्याको निराकरण गर्ने कुनै चार उपायहरु उल्लेख गर्नुहोस् ।
(७) हिजो आज हाम्रो समाजमा आत्मदाह तथा आत्महत्या जस्ता जघन्य अमानवीय सामाजिक घटनाहरु दिनानुदिन बढ्दै गई विकराल सामाजिक समस्याको रुपमा देखिन थालेका छन् । यस्ता सामाजिक समस्याको आर्थिक, सामाजिक, मनोवैज्ञानिक र राजनैतिक एक-एक वटा कारणहरु पत्त लगाई चार बुँदामा समेट्नुहोस् ।
(८) हाम्रो समाजमा सामाजिक सञ्जालको दुरुपयोगका कारण उत्पन्न भएको कुनै एक समस्या उदृत गरि त्यस्ता समस्याको कारण र समाधानलाई छोटकरीमा लेख्नुहोस् ।
(९) नेपालको संघीय संसदको सदस्य हुन आवश्यक पर्ने संवैधानिक योग्यता अनुरुप नभएको कुनै एउटा घटनाको छोटकरीमा परिचय दिई त्यस्ता घटना दोहोरिन नदिन जनस्तरबाट अवलम्बन गर्न सकिने कुनै पाँच उपायलाई छोटकरीमा लेख्नुहोस् । (लामो)
(१०) गैर आवसीय नेपालीलाई दिईने नागरिकता, अंगीकृत नागरिकता र वंशजको आधारमा दिईने नागरिकताका एक-एक वटा विशेषता लेख्नुहोस् । हाम्रो समाजमा नागरिकता प्राप्तिका लागि भोग्नु परेका कुनै चार समस्या पहिल्याई बुँदामा टिपोट गर्नुहोस् । (लामो) (३+४)
(११) गठबन्धनको सरकार र चुनावी गठबन्धनमा के फरक छ ? गठबन्धनको सरकार कस्तो संवैधानिक अवस्थामा गठन गरिन्छ ? यस्तो सरकार दलीय भागबन्डामा चलेको हुन्छ कसरी ? आफ्नो तर्कलाई छोटकरीमा लेख्नुहोस् । (लामो) (२+२+३)
(१२) नेपालमा संघीय गणतन्त्रात्मक शासन पद्दतीको अवलम्वन गरेको दशकौ बितिसक्दा पनि मानव अधिकारको क्षेत्रमा उल्लेखीय सुधार भएको पाइएन । यस्तो अवस्था विद्यमान हुनुका तीन कारणहरु र त्यसका निवारणको उपायलाई चार बुँदामा लेख्नुहोस् । (लामो) (३+४)
(१३) जलविद्युत उर्जाको उच्चतम विकासले हाम्रो देशको पर्यावरीयण संरक्षण र आर्थिक विकासमा टेवा पुर्याउन सक्छ । माथिको भनाईलाई उचित तर्क सहित पुष्टी गर्दै एउटा राष्ट्रिय दैनिक पत्रिकाका लागि सम्पादकीय तयार पार्नुहोस् । (लामो) (२+५)
(१४) वैदेशिक रोजगारीको रुपमा बढ्दै गएको मानव तस्करीलाई नियन्त्रण गर्न सकिने पाँच उपाय वा सुझाव समेटी नेपालका गृहमन्त्रीलाई खुलापत्र लेख्नुहोस् । (लामो) (२+५)
(१५) यस वर्ष विश्वका विभिन्न देशमा देखिएको आर्थिक मन्दीले नेपालको वित्तीय क्षेत्रमा पारेको प्रभाव समेटी एउटा निवन्ध तयार पार्नुहोस् । (लामो) (७)
(१६) हाम्रो उत्तर र दक्षिणका मित्र राष्ट्रहरुसँगको दौत्य सम्बन्ध कायम राख्न जनस्तरबाट गर्न सकिने कुनै चार भूमिका समेटी बुँदामा लेख्नुहोस् । (छोटो)
यसैगरी ज्ञान तथा बोध वर्गका केही प्रश्नहरुको उत्तर लेख्नुपर्दा उस्तै उस्तै तथ्य तथा जानकारीको आवश्यक पर्दछ । तलका उदाहरणलाई राम्री अध्ययन गर्नुहोस् ।
जस्तैः-
(१) यदि तपाईलाई कुनै महादेश, प्रदेश वा देशको भौगोलिक अवस्था (विशेषता)को बारेमा सोधिएका प्रश्नको उत्तर लेख्नुपर्ने छ भने तलका तथ्यहरु समावेश गर्नुहोस् ।
– धरातलीय स्वरुप जस्तैः- पहाड, मैदान, हिमाल, उपत्यका, घाँटी, समस्थली, द्धीप आदि ।
– खेतीयोग्य जमिन, हावापानी, वर्षा, तापक्रम, वायू
– प्राकृतिक वनस्पति
– हिमचुचुरा, नदी, ताल, समुन्द्र, महासागर
– प्राकृतिक विभाजन
(२) कुनै देश प्रदेश वा महादेश आदिमा बसोबास गर्ने मानिसका आर्थिक क्रियाकलापको बारेमा सोधिएका प्रश्नको उत्तर दिनुपर्दा तलका तथ्यहरु समावेश गरि प्रकाश पार्नुपर्छ ।
– अधिकांश बासिन्दाको मुख्य पेशा र आयआर्जन
– कृषि उपज, व्यापार, पर्यटन, उद्योग तथा खनिज उत्पादन
– निजामति सेवा तथा जागिर ईत्यादि
(३) त्यसैगरी बासिन्दाको सामाजिक सांस्कृतिक अवस्थाका बारेमा उत्तर लेख्नुपर्दा तलका तथ्यहरुलाई केलाउँदै समावेश गर्नुपर्छ ।
– अधिकांश मानिसको धार्मिक आस्था
– बसोबास गर्ने मुख्या जात जातिहरु
– पोशाक, भाषा, चाडपर्वहरु र मेला
– खानपिन, रहनसहन, जीवनस्तर
– नाचगान, लोकबाजा, विवाह, ब्रतबन्ध, न्वारन तथा अन्तिम संस्कार आदि
(४) विकासका वाधक तत्वहरुको बारेमा सोधिएका प्रश्नहरुको उत्तर दिँदा तलका बुँदाहरु समेटी उत्तर लेख्नुपर्छ ।
– मानवीय श्रम साधन
– स्थानीयको आर्थिक अवस्था
– विज्ञान र प्रविधिको अवस्था
– राजनैतिक अवस्था
– सामाजिक राजनैतिक, धार्मिक द्वन्द्व
– आन्तरिक कलम र गृहयुद्ध
– अस्वस्थ्यकार हावापानी, महामारी, रोग
– अनुत्पादक जमिन तथा धरातलीय स्वरुप
– विकासका पूर्वधारको कमी
– भ्रष्ट्रचार, सरकारी नीति र पहलको कमी इत्यादि
(५) कुनैपनि योजना तथा परियोजनाको चिनारीका बारेमा सोधिएका प्रश्नको उत्तर दिँदा तलका बुँदा तथा तथ्यहरुलाई समेटी प्रकाश पार्नुपर्छ ।
– परियोजनाको नाम र ठेगाना
– नियामक निकायको नाम र परिचय
– सरकारी लगानी र निजी लगानीको अवस्था
– परियोजनाका उद्देश्यहरु
– परियोजना पूरा हुने समय, सिमा
– परियोजनाका उद्देश्यहरु प्राप्त गर्न अपनाउनुपर्ने कदमहरु
– परियोजनाका कारण प्राप्त हुने आर्थिक सामाजिक उपलब्धिहरु इत्यादि
(६) कुनैपनि सामाजिक तथा सांस्कृतिक कु-प्रथाको कारणका बारेमा सोधिएका प्रश्नको उत्तर दिँदा तलका बुँदाहरुका बारेमा प्रकाश पार्नुपर्छ ।
– त्यस क्षेत्रका बासिन्दामा शिक्षा र चेतनाको कमी
– बेरोजगारी र गरीबी
– कडा कानुनको कमी
– मानव अधिकारको बारेमा जानकारी नहुनु
– धार्मिक तथा सांस्कृतिक अतिवानद रहनु ईत्यादि
(७) महादेशको मानचित्रमा तथ्यहरु भर्नुपर्ने प्रश्नको तयारी गर्नुपर्दा विशेष गरी तलका तथ्यहरु समावेश गर्नुपर्छ ।
– मुख्य मुख्य पहाड, हिमचुचुरा, मरुभूमि, उच्च समस्थली
– कृषिउपज क्षेत्र
– मुख्य सहरहरु
– मुख्य देशान्तरहरु, मुख्य भूमध्य रेखा, Tropic of Cancer, tropic of Capricorn arctic circle
– घाँसे मैदान, जंगल र बनस्पतिको क्षेत्र
– हावापानीको क्षेत्र
– नदी, ताल, समुन्द्र महासागर द्वीप
(८) कुनै सांस्कृतिक महत्वको स्थल भ्रमण रिपोर्ट तयार गर्नुपर्दा तलका शिर्षकहरु समावेश गर्नुपर्छ ।
(क) परिचयः- भ्रमण अध्ययनको शिर्षक, अवस्थिति तथा ठेगाना
(ख) उद्देश्यः- भ्रमण अध्ययनका लक्ष्यहरु
(ग) प्रक्रियाः- त्यस भ्रमण अध्ययनमा तथ्य तथा जानकारीहरु प्राप्त गर्न प्रयोग गरिएका प्रक्रियाहरु जस्तैः- अनर्वार्ता, पुस्तकालय, पुस्तक, पत्रपत्रिकामा प्रकाशन गरिएका लेख रचना, नेट, वेभसाइटहरु, स्थलगत अध्ययन ।
(घ) प्राप्त ज्ञानः- प्राप्त गरिएका सम्पूर्ण तथ्यहरु विश्लेषणका आधारमा प्राप्त निचोड
(ङ) निश्कर्षः- आफ्नो विचार र सुझाव ।
र यो पनि पढ्नुहोस्: SEE का लागि सामाजिक विषयको तयारी
वि.सं.२०७९ फागुन ९ मंगलवार १५:१४



















