सत्तारूढ पार्टी नेकपाको सचिवालय बैठक बस्दै
वि.सं.२०७६ पुस २० आइतवार ०८:३७
1.3K
shares
काठमाडौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दैछ । नेकपाले केन्द्रीय कमिटीको बैठक सार्ने तयारी गरेको छ ।
आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने देखिएको नेकपा स्रोतले जानकारी दिएको छ । गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक प्रस्ताव लगायतका कार्यसूची तय गरेर केन्द्रीय सदस्यहरूलाई अन्तरपार्टी निर्देशन समेत पठाइसकेको थियो भने राष्ट्रिय सभागृहको हलसमेत बुक भएको थियो ।
नेकपा केन्द्रीय कमिटीको बैठक कार्यसूचीमाथि नै छलफल गर्नेगरी पहिलोपटक बस्न लागेको हो । पार्टी एकताको दिन २०७५ जेठ ३ गते एकीकरणलाई औपचारिकता दिन र शपथ ग्रहणका निम्ति बालुवाटारमा बसेको थियो । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी थियो । गत भदौ ९ गतेको सचिवालय बैठकले ४ जना केन्द्रीय सदस्य थप गरेको थियो । यसबीचमा रवीन्द्र अधिकारी र धनिराम पौडेलको निधन भएको छ । बंशीधर मिश्र बङ्गलादेशका लागि राजदूत बनेपछि केन्द्रीय कमिटीको पद स्थगित छ ।
वि.सं.२०७६ पुस २० आइतवार ०८:३७




















