स्व. दालकुमारी सुनुवारको भोलि (सोमबार) अन्तिम अन्त्येष्टी गरिदै
वि.सं.२०८० पुस १५ आइतवार १९:५०
3.4K
shares
काठमाडौं: संविधानसभा सदस्य तथा सुनुवार सेवा समाज संघीय समितिका सल्लाहकार एवं राप्रपा नेतृ दालकुमारी सुनुवारको भोलि (सोमबार) पौष १६ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । थाइराइड क्यान्सरबाट ग्रसित ८१ वर्षीया स्व. सुनुवारको शनिबार नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा उनको निधन भएको थियो ।
पारिवारिक भनाई अनुसार कान्छा छोरा बिदेशमा रहेका कारण भोलि (सोमबार) मात्र अमेरिकाबाट नेपाल आईपुग्ने भएकाले सोमबार बिहान अन्तिम श्रद्धञ्जलिका लागि उनको पार्थिव शरीरलाई १० बजे देखि ११ बजेसम्म राप्रपा पार्टी कार्यालय सुकेधारामा राखिने भएको छ भने मध्यन्ह १२ बजेदेखि २ बजेसम्म सुनुवार सेवा समाज संघीय समितिको कार्यालय बालकुमारी कोटेश्वरमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्वान्जलीका लागि राखिने उनका छोरा राजेन्द्र प्रसाद सुनुवारले जानकारी दिए ।
रामेछाप उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर निवासी स्व. दालकुमारी सुनुवार पञ्चायतकालदेखि राजनीतिमा सक्रिय हुँदै आएकी थिइन् । वर्गीय संगठन अन्तर्गत तत्कालीन जनकपुर अञ्चलको महिला संघको सभापतिबाट उनले राजनीति सुरु गरेकी थिइन् । महिलाहरुको आयआर्जन र अधिकार र सुधारका लागि सधैं अग्रपंक्तिमा उभिने गर्थिन् । जिल्ला जिल्लामा उनले नारी शिल्पकला केन्द्रको स्थापना गरी आयआर्जनमा महिलाहरुलाई संलग्न गराएकी थिइन् ।
२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य पदको निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेकी सुनुवार झिनो मतान्तरले पराजित भएकी थिइन् । बहुदलीय व्यवस्था प्राप्तिपछि सुनुवार राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न रहिन् । उक्त पार्टीबाट २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । सुनुवारले राप्रपाको केन्द्रीय सदस्यको रुपमा समेत केही अवधि कार्य गरिन् । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राजपरिषद् स्थायी समिति सदस्य समेत रहेकी सुनुवार रामेछाप जिल्लाको अनुगमन समितिकी संयोजकसमेत रहेकी थिइन् । स्व. सुनुवारको परिवारमा श्रीमान् र ३ छोरा छन् ।
वि.सं.२०८० पुस १५ आइतवार १९:५०




















