धनगढी विमानस्थल आजदेखि एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने
वि.सं.२०७६ मंसिर १ आइतवार ०९:५८
870
sharesधनगढी: धनगढी विमानस्थल आजदेखि एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । धावन मार्ग मर्मत तथा विमानस्थल स्तरवृद्धिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । धावन मार्गको मर्मत तथा स्तरवृद्धिको काम गर्न दिउँसो तीनदेखि सातबजेसम्म एक महिना बन्द हुने धनगढी विमानस्थलले जानकारी दिएको छ ।
यसअघि जेठमा एक महिना विमानस्थल बन्द गरेर धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो तर त्यति बेला काम सम्पन्न नभएकोले फेरि विमानस्थल एक महिनाका लागि आशिंक रुपमा बन्द गर्न लागिएको हो । विमानस्थल दैनिक चार घण्टा बन्द हुने भएपछि धनगढीबाट काठमाण्डौका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन् । विमानस्थल कार्यालयले दिउँसो तीन बजेदेखि ७ बजेसम्म हुने उडान अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको छ ।
धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ । झण्डै २२ करोड रुपैयाँ लगानीमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ ।
वि.सं.२०७६ मंसिर १ आइतवार ०९:५८