माओवादी र नेसपाबीच संयुक्त संयोजन समिति गठन गरिँदै
वि.सं.२०८० मंसिर १२ मंगलवार १२:०९
2K
shares
काठमाडौं: नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीचको पार्टी एकताले मूर्त रुप लिन लागेको छ ।
लामो समयदेखिको तीव्र रस्साकस्सीकाबीच अन्ततः दुबै पार्टी एकताबद्ध हुन तयार भएका छन् । एक वर्ष अघिदेखि थालिएको पार्टी एकता विविध कारणले अन्योलमा थियो । नेसपामा एकताको विषयमा दुई धार देखिएपछि पार्टी एकतामा बिलम्ब भएको बताइएको थियो । बाबुराम लगायतका नेताहरु एकताको विपक्षमा देखिपछि अर्का अध्यक्ष महिन्द्रराय यादव पक्ष एकता गर्ने तयारीमा रहेका थिए ।
नेसपाभित्र तीव्र आन्तरिक दबावमा रहेका अध्यक्ष बाबुराम पनि एकता गर्न सहमत भएपछि दुबै पार्टीले एकतालाई अन्तिम रुप दिने तयारी थालेका छन् । मंसिर ६ मा बसेको नेसपा केन्द्रीय समितिको बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेपछि पार्टी एकताले मूर्तरुप लिन लागको हो । माओवादीका तर्फबाट एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ लगायतको वार्ता टोली र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीले एकता प्रक्रिया टुंगोमा लगाउन आन्तरिक छलफलमा जुटिरहेका छन् ।
पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा प्रारम्भिक सहमति भएको र आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्ने दुबै पक्षको तयारी रहेको बताईएको छ ।
वि.सं.२०८० मंसिर १२ मंगलवार १२:०९



















