बस्नेत र प्रसाईंलाई माइतीघरमा कार्यक्रम गर्न नदिइने

वि.सं.२०८० मंसिर ४ सोमवार १२:४६
1.9K
shares
काठमाडौं: नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।
‘त्यहाँ नजिकै अदालतहरू छन् । अस्पतालहरू छन् । बिरामी बोकेका एम्बुलेन्स ओहोरदोहोर गरिरहने स्थान हो । यसलाई प्रभावित हुनेगरी त्यो क्षेत्रमा कसैलाई पनि कार्यक्रम गर्न दिँदैनौँ । सम्पर्कमा आउनुभयो भने छुट्टाछुट्टै स्थान तोकिदिन्छौं’, आचार्यले भने, ‘यदि छलफलमा नआई कानुनविपरीतका काम भए कारबाही हुन्छ ।’
युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन् । प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग रुष्ट छ । प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो समेत दलिएको थियो । आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको प्रसाईंको आरोप छ ।
यस्तै, महेश बस्नेत कार्यक्रमका लागि झापा जाँदा अवरोध गरिएको थियो । बस्नेतले आफूलाई प्रसाईंको समूहले अवरोध गरेको आरोप लगाएका छन् ।

वि.सं.२०८० मंसिर ४ सोमवार १२:४६