हत्यारालाई आममाफी दिनु गलत हो, विरोध गरौः गगन थापा
वि.सं.२०८० असोज १८ बिहीवार १४:२७
2K
shares
काठमाडौं: नेपाली कांग्रेस महामन्त्री गगन थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गरेका हुन् । संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।
संसदमा बोल्दै थापाले भने, ‘यो विषय अदालतको ढोकासम्म पुगेको छ । जसले हामीलाई गिज्याइरहेको छ । अदालतमाथि पनि प्रश्न उठेको छ ।’ महामन्त्री थापाले हत्या पुष्टिपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पारे । थापाले भने,’यसको विरोध हुनुपर्छ र हामी विरोध गर्छौं ।’
श्रीमानको हत्यारा रिगललाई उन्मुक्ति दिएको विरोधमा भारती शेर्पा मानन्धरले काठमाडौंको माइतीघरमा बुधबारबाट अनशन सुरू गरेकी छन् । उनले श्रीमानको न्यायका लागि सर्वोच्च अदालतलाई गुहारेकी छन् । उनले दिएको रिटमाथि सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ भइरहेको छ ।
२०७२ असार २८ गते नेपालगञ्ज उपमहानगरपालिका-८ का चेतन मानन्धरको दिनदहाडै हत्या भएको थियो । मानन्धरको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । थापाका अनुसार नयाँ कानुन बनेपछि विभिन्न मुद्दाका जेलजीवन बिताइरहेका ६ हजार ७४६ जनाले आममाफी पाएका छन् ।
वि.सं.२०८० असोज १८ बिहीवार १४:२७



















