प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने
वि.सं.२०८० असोज ४ बिहीवार १८:४२
3.2K
shares
काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । १३औं संस्करणको सेना प्रमुखहरुको कन्फ्रेन्समा सहभागिताका लागि प्रधानसेनापति शर्मा दिल्ली जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नयाँ दिल्लीमा २०८० असोज ८ गतेदेखि १० गतेसम्म इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स हुनेछ । त्यही कार्यक्रमका लागि प्रधानसेनापति भारत प्रस्थान गर्ने तयारी भएको हो । सोही अवसरमा हुने ४७औं इन्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट सेमिनारमा सहभागी हुने उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम तथा ९औं सिनियर इनलिस्टेड लिडर्स फोरममा सहभागी हुने प्रमुख सुबेदार रत्नबहादुर थापा पनि प्रधानसेनापतिको भ्रमण टोलीमा सामेल छन् ।
प्रधानसेनापति शर्माले यो कार्यक्रममा सहभागीता जनाउने बारेमा भदौ २३ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरिसकेको छ । भारत र अमेरिकी सेनाहरुको सह-आयोजनामा सञ्चालन हुने यस पटकको कन्फ्रेन्समा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली असोज ११ गते श्वदेश फर्किनेछ । नियमित रुपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागीताबाट मित्रराष्ट्रका सैन्य संगठनहरुबीच सुमधुर सम्बन्ध विकासमा मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।
वि.सं.२०८० असोज ४ बिहीवार १८:४२




















