तीन नम्बर प्रदेशमा विश्वविद्यालय स्थापना गर्न बनेको अध्ययन तथा सिफारिस समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन
वि.सं.२०७६ जेठ १४ मंगलवार ०८:३२
795
sharesकाठमाडौं: तीन नम्बर प्रदेशमा विश्वविद्यालय स्थापना गर्न बनेको अध्ययन तथा सिफारिस समितिले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रतिवेदन बुझाएको छ ।
प्रदेश सरकारको गत पुस २९ बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश ३ मा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न सामाजिक विकास मन्त्रीको युवराज दुलालको संयोजकत्वमा अध्ययन तथा सिफारिस समिति बनेको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका राम्रा र नराम्रा अभ्यासहरुको अध्ययनपछि प्रतिवेदन तयार पारी सोमवार मुख्यमन्त्रीलाई बुझाइएको कार्यदलका संयोजक तथा सामाजिक विकास मन्त्री दुलालले जानकारी दिए । प्रतिवेदन तयार गर्न कार्यदललाई दुई महिनाको समय दिइएकोमा समय अपुग भएपछि ४५ दिनको समय थप गरिएको थियो ।
प्रदेश विश्वविद्यालय अहिलेको तुलनामा बढि प्राज्ञिक स्वतन्त्रता हुनुपर्ने, आर्थिक लगानी तथा वित्तीय व्यवस्थापन आफैंले गर्न सक्ने हुनुपर्ने, उच्च स्तरको शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा हुनुपर्ने सुझाव दिइएको कार्यदल जनाएको छ ।
शैक्षिक क्षेत्रका विज्ञहरु, प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रतिनिधिहरुकोसँगको छलफल पछि प्रतिवेदन निर्माण गरिएको दुलाल जानकारी दिए । कार्यदलको सदस्यहरुमा शिक्षा क्षेत्रका विज्ञहरु डा. युवराज संग्रौला, प्रा.डा. रमेश प्रसाद भट्टराई, प्रा.डा. अन्जना सिं, प्रा.डा. हरिकृष्ण श्रेष्ठ र इन्जिनियर डा. जगत बहादुर श्रेष्ठ रहेका रहेका छन् ।
वि.सं.२०७६ जेठ १४ मंगलवार ०८:३२