ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा
वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८
219
shares
ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने बृहत् निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ । रावादोलुस्थित श्री जनज्योति उच्च माध्यमिक विद्यालयमा असोज २३ र २४ गते उक्त शिविर सञ्चालन गरिएको हो ।
HDSN, ललितपुर तथा खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ को मुख्य आयोजना र चुप्लु एकता समाज नेपाल (CUS Nepal), खिजिदेम्बा-४ को सहकार्यमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय दाँतका बिरामीहरू गरी करिब ४ सय जनाले सेवा लिएको चुप्लु एकता समाज नेपालका अध्यक्ष प्रकाश कुमार सुनुवारले जानकारी दिए ।

शिविरमा वरिष्ठ दन्तरोग विशेषज्ञहरूद्वारा बिरामीहरूको दाँतको विशेष परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । सेवाका क्रममा समस्या देखिएका बिरामीहरूको दाँत उखाल्ने, दाँत भर्ने कार्यका साथै आवश्यक औषधिहरू समेत पूर्ण रूपमा निःशुल्क वितरण गरिएको थियो ।
ग्रामीण क्षेत्रका नागरिकहरूमा दन्त स्वास्थ्यको पहुँच पुर्यामउने र घरदैलोमै विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजित यस शिविरबाट भौगोलिक विकटताका कारण समयमै उपचार पाउन नसकेका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । आफ्नै गाउँमा निःशुल्क उपचार र औषधि पाएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै आयोजक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८



















