कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुँदै
वि.सं.२०७८ पुस ३ शनिवार ०९:०८
3K
shares
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएसँगै केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ ।
मतगणना बिहान १० बजेदेखि सुरु हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) ४७४३ रहेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए ।
पछिल्लो प्राप्त मत परिणाम अनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी-जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।
समावेशीका विभिन्न आठ क्लष्टर अन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
कांग्रेस महाधिवेश नअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणाम अनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहेका शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री र समावेशीका विभिन्न ८ क्लष्टर अन्तर्गत ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेसको विधानमा व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
वि.सं.२०७८ पुस ३ शनिवार ०९:०८



















