काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो
वि.सं.२०७७ भदौ २५ बिहीवार ०८:३७
2K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा आजदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबारदेखि थप खुकुलो बनाउने निर्णय गरिएको हो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको हो ।
भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने उक्त आदेशानुसार उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको छ ।
उपत्यकाभित्रमा १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ । भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रमा ५ वर्ष मुनिका बालबालिका दुई जनासम्म राखी चलाउन सकिने छ ।
निजी सवारी साधन स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ । यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम राखी चलाउनु पर्नेछ ।
यसरी सवारी साधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । सवारी साधनको ढोका मै स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्रमण गराएको हुनेपर्नेछ । सवारी साधन भने जोरविजोर प्रणाली अनुसार सञ्चालन गर्नुपर्ने छ, तर मालबाहक सवारीको हकमा भने जोरविजोर लागू हुने छैन ।
सार्वजनिक सूचना अनुसार औषधि र पानीजन्य व्यवसाय चौविसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम राखिएको छ । अन्य खाद्यवस्तु, दुध, तरकारी फलफूल, माछामासुका व्यवसाय विहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।
तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने छन् । फर्निचर र अटो मोवाइल सम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ ।
फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, ईलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर विहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारी साधन सम्बन्धी वर्कसप विहान ८ देखि राति ८ सम्म सञ्चालन हुनेछ । टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
स्वास्थ्य मापदण्ड पालना गरी अनलाईनन कक्षा र त्यस्ता सेवासँग मिल्ने सेवाहरु सञ्चालन गर्न सकिने छ । विदेश जाने व्यक्तिलाई आवागमनमा सहजीकरण गरिने छ । स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । कन्टयाक्ट ट्रेसिङमा परेका व्यक्ति समेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्ने छ ।
अत्यावश्यक वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।
खुला स्थानमा भीडभाड, सभा लजुलुस गर्न गराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न, धार्मिक क्षेत्रमा दैनिक नित्य पूजा बाहेकका गतिविधि, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ ।
यस्तै चाडपर्व लगायत धार्मिक तथा साँस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, व्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पूल जीमखाना, समूहमा खोलिने खेल, पुस्तकालय चिडियाखाना तथा सङ्ग्राहलय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ ।
वि.सं.२०७७ भदौ २५ बिहीवार ०८:३७



















