कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार
वि.सं.२०८२ भदौ ३ मंगलवार १३:५१
1.3K
shares
नेपाली गीत संगीतमा नयाँ परिचय बनाउदै गरेका सल्यानका गायक भरत परियार काठमाडौंमा संघर्षरत छन् । वि.स २०५९ सालदेखि काठमाडौँमा संघर्ष गरिरहेका गायक परिवारले विभिन्न विधाका गीत आवाज भर्ने र संगीत निर्माण गर्नेमा आफूलाई सक्रिय राखेका छन् । गीत गाउने मात्र नभएर संगीत भर्ने र शब्द कोर्नेसम्मका काममा सक्रिय बनाइरहेका गायक परियारसँगको जम्माभेटमा हामीले राखेका सवाल र उनको जवाफः
– तपाईंको बाल्यकाल कहाँ र कसरी बित्यो ?
गरिव परिवारमा जन्म भयो । मेरो बाबा बालिघरे कपडा सिलाउने काम गर्नु हुन्थ्यो । जब बुझ्दै गएँ, म त सानो जातको परिवारमा जन्म भएको रहेछ, अर्काको घरमा जादा बाहिर बस्नुपर्ने, मागेर खानुपर्ने, मान्छेसँगै पनि छुन नपाईने । यस्ता दृश्य र व्यवहारहरू देख्दै र भोग्दै आएँ । साथिको घरमा जादा बाहिरै बस्नु पर्ने, सोच्थे किन यस्तो हुन्छ ? किन गरिन्छ ? भनेर बाआमालाई सोधेँ । बाआमाले भन्नु हुन्थ्यो, बाबु हामी सानो जातको रे । त्यसैले । मलाई लाग्थ्यो, होईन मेरो वा आमाको कोखबाट जन्म लिनु के मेरो दोष होर ? यस्तै पीडा, अभाव, विभेद, उत्पीडनलाई भोग्दै र झेल्दै बाल्यकाल वित्यो ।
बाल शिक्षाको पढाइ ९ वर्षको उमेरदेखि बल्ल सुरू गरियो । स्कुल जादा पनि भेदभाव हुन्थ्यो । पानी खान मन लाग्यो भने साथिहरूले टाढैबाट पानी हालिदिन्थे । अनौठो लाग्थ्यो र अन्यायले छाती पोल्थ्यो । के म मान्छे होईन ? भन्ने मनमा गम्भीर प्रश्न उठ्थे । हाम्रो स्कुलमा सायद हाम्रो जातिको म नै पहिलो विद्यार्थी थिएँ । बाबाले सानैदेखि सिलाई काम सिकाउनु भएको थियो । म स्कुल जाने र घरमा बाबाले भनेको काम पनि गर्थे । सानो छदा हुँदा भन्दा पनि जति बुझ्दै गएँ, उती नै धेरै विभेदका प्रखालहरू झेल्दै आउन पर्यो ।
– पहिले र अहिलेको अवस्थाबीच के भिन्नता छ ?
दलित समुदायहरू अशिक्षाको जञ्जिरमा थिए । विभेद सहेर बस्थे । हामी सानो जात, जातले पाको भन्थे भनेर कर्मलाई धिकार्थे । तर, अहिले फरक अवस्था निक्कै फरक छ । शिक्षाबाट वञ्चित हुनु परेको छैन । दलित समुदायका पनि ठूला ठूला सरकारी ओहोदामा छन् । अझँ बढि कलाकारिकतामा छन् । सीप र संगीतका जननी नै दलित हुन् । विज्ञान र ज्ञानका गुरू पनि दलित नै हुन् । तर, दलितले जति प्रतानडा र पीडा यो दुनियाँमा अरू कसैले भोग्न परेको छैन । सदियौदेखिका विभदका पर्खालहरू भत्किने क्रममा छन् । संविधानले पनि प्रष्टसँगै जातीय विभेदलाई अपराध भनेको छ । मान्छे मान्छेबीच जातिय छुवाछूत गरियो भने त्यो जघन्य अपराध हो भनेको छ । कहि कतै अझै पनि त्यस्ता घटनाहरू घटिरहेका छन् । त्यस्ता घटनाहरूलाई कानुनत कारबाही गरिनु पर्छ । समानता र समता मूलक समाज निर्माण गर्नुपर्छ ।
– काठमाडौँ कति सालमा आउनु भयो ?
२०५९ सालमा म काठमाडौं आएँ । तत्कालिन जनयुद्धका कारण गाउँमा बस्ने अवस्था थिएन । कि युद्धमा जानुपर्ने हुन्थ्यो । कि सेनामा । नभए इण्डिया कालापार जानुको विकल्प थिएन । मनमा त क्रान्तिकारी बाटोमा लाग्ने थियो । दलित समुदायले भोगिरहेको हिँसाका विरूद्ध लड्न मन थियो । घरको जेठो छोरा भएकाले होला बाआमाले युद्धमा भन्दा पनि छोरो कतै गएर कमाओस् भन्ने चाहानु भयो । खैर, म काठमाडौँ आएर क्रान्तिकारी पार्टीकै पक्षमा उभिएर काम गरें । अहिले पनि सक्रिय नै छु । साथै मेरो अर्को सानैदेखिको अर्को उद्देश्य भनेको कलाकार बन्ने थियो । तर सुरूमा काठमाडौँ टिक्न अत्यन्तै गाह्रो थियो । केही न केही काम गर्नै पथ्र्यो । बाँच्नका लागि मैले सिलाई काम गर्ने निर्णय गरे । रेडियो सुन्दा लाग्थो म पनि कलाकार बन्न पाए कस्तो हुन्थ्यो होला ? कसैले स्टेजमा गीत गाउदा म पनि यस्तै त गाउन सक्छु त भन्ने लाग्थ्यो । निरन्तर लगनशीलता भयो भने एक दिन अवश्य पनि म सफल हुन्छु होला भन्ने लाग्थ्यो । संघर्षको अर्को नाम हो सफलता । त्यसैले त संघर्ष अझै जारी छ ।
– युद्ध र कालापार नगएर काठमाडौँ नै आउनुको कारण चाहीँ के थियो ?
उदेश्य थियो, योजना थियो र लक्ष्य थियो । सानैदेखिको सपना थियो । म कुनै दिन गायक बन्छु भन्ने । तर, अझैँ गायक भईसकेको छैन । बन्ने निरन्तर कोसिसमा छु, प्रयासमा छु । त्यसै कारण पनि म काठमाडौँ आएको हो ।
– गायन क्षेत्रमा कसरी आउनु भयो ?
गायन क्षेत्रमा आउन वास्तवमै सजिलो छैन । धेरै संघर्ष र उती नै मेहनत चाहिन्छ । त्यहीँ संघर्ष अझै गर्दैछु र सिक्दै छु । सुरूवातमा त संगीतलाई नबुझेरै गीत निकाले । जुन कुरा म गर्दैछु नि, त्यो त मैले सिक्नैपर्छ भन्ने लाग्यो । गुरू राम सिटौला सरसँग सात सुर चिन्ने र सक्ने मौका पाएको थिएँ । त्यसरी नै मेरो औपचारिक रूपमा सांगीतिक यात्रा तय गर्ने कोसिस गरेको हुँ ।
– तपाईं विचार गीत संगीत के हो ?
यधपी गीत संगीतले मान्छेलाई हरेक परिस्थितिमा लैजान्छ । सुरूवातमा त हामीले रून सिक्यौँ । त्यो पनि सुरमा त्यो पनि आमाको काखमा जुन कुरा हामीलाई आमाले सिकाउनु भयो । गीतले संगीतले मान्छेलाई खुसी बनाउछ । दुःखी बनाउछ । हसाउँछ, नचाउछ र रूवाउछ यानकी मान्छेको रिदयसँग टच भएको हुन्छ । त्यो हृदय छुने शक्ति चै गीत संगितमा हुन्छ । अर्को अर्थमा भन्दा गीत जीवन हो र संगीत पानी हो । जीवन र पानी मिलेर जिन्दगानी बन्छ ।
– नेपाली गीत संगीतमा देखिएका विकृति अन्त्य गर्न के गर्नुपर्ला ?
नेपाली सांगीतिक क्षेत्रको डिजिटल बजारको वर्तमान स्थिति साँच्चिकै भन्ने हो भने विजोक छ । हाम्रो गीत संगीतको बजारमा कला नभएर चर्चिकला चल्छ । यसरी हेर्दा इमान्दार कलाकार, क्षमता र योग्यता भएका कलाकारहरू टिक्नै गाह्रो छ । लगानी सुरक्षित छैन । ग्यारेन्टी पनि छैन । यस कारणले पनि गाह्रो छ । विकृति जन्य गीत, दोहोरो अर्थ लाग्ने गित गायो भने मात्रै चल्छ भन्ने हाम्रो मानसिकता भयो । विकृति जन्य गित संगित लाई नियन्त्रण गर्ने त राज्य ले नै हो । जसरी चलचित्र विकास वोर्ड छ नि । त्यसरी नै गीत संगित विकास बोर्ड स्थापना गरियो भने मात्रै विकृतिलाई नियन्त्रण गर्न सजिलो हुन्छ । सबैभन्दा पहिले कलाकारहरू स्वयं आफू अनुसाशित हुनुपर्छ । समाजलाई आफूले दिन खाजेको कुरा के हो र त्यसले के असर गर्छ भन्ने कुरा जान्नुपर्छ ।
– तपाईंले गाएका गीतहरूको सन्देश के हो ?
मैले गाउने गीतले समाजलाई केही न केहीरूपमा सकारात्मक सन्देश दिने कोसिस गरेका छन् भन्ने मलाई लाग्छ । अर्को कुरा विधा अन्तरगत गीतको सन्देश पनि फरक सन्देश हुन्छ । मैले लोक गीत, लोक दोहोरी, राष्ट्रभक्ति गीत, क्रान्तिकारी गीत गाएको छु ।
{साभारः सडक सदन साप्ताहिकबाट}
वि.सं.२०८२ भदौ ३ मंगलवार १३:५१


















