श्रीलंकामा संकटकालकाबीच राजनीतिक उथलपुथल, सबै मन्त्रीले एकसाथ दिए राजीनामा
वि.सं.२०७८ चैत २१ सोमवार १०:२६
2.7K
shares
काठमाडौं: श्रीलंकामा संकटकालकाबीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आइतबार राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।
श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए ।
तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् ।
श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ ।
यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो ।
आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्याली निकालेका थिए । यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन् ।
आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जानकारी दिएको हो ।
उता राजधानी कोलम्बोमा स्थिति नबिग्रियोस् भनेर सेना र प्रहरीले हरेक कुनामा पहरा दिइरहेका छन् ।
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत अघि सरेको छ । इन्धन संकटसँग जुध्न श्रीलंकालाई भारतले तेल ट्याङ्कर पठाइदिएको हो, जुन शनिबार श्रीलंका पुगेको छ ।
वि.सं.२०७८ चैत २१ सोमवार १०:२६


















