मतगणना तत्काल स्थगित गर्न माग गर्दै डोनल्ड ट्रम्पद्वारा अदालतमा मुद्धा दायर
वि.सं.२०७७ कात्तिक २० बिहीवार ०७:२२
2K
shares
एजेन्सीः अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मत गणना तत्काल स्थगित गर्न माग गर्दै डोनल्ड ट्रम्पले अदालतमा मुद्धा दायर गरेका छन् ।
ट्रम्प क्याम्पेनका तर्फबाट मिसिगन राज्यको मत गणना स्थगित गर्न आदेशको माग गर्दै मुद्धा दायर गरिसकिएको छ भने पेन्सिलभेनिया राज्यको मत गणना चलिरहँदा त्यहाँ पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्प क्याम्पेनले जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा मत गणना जारी रहँदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् । अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएको र मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्धा दायर भएको हो ।
समाचार अनुसार, मतगणना पारदर्शी नभएको आरोप लगाउंदै उनले मिसिगन अदालतमा मुद्धा दायर गरेका हुन् । यसैबीच अमेरिकी समाचार संस्था सीएनएनले मिसिगनमा वाइडेनले जित हासिल गरेको बताएको छ ।
पराजित भइसकेको विसकन्सिनमा पनि पुन मत गणनाको माग राखेका छन् भने पेन्सिलभेनियामा हालसम्म ट्रम्पले नै अग्रता लिएका छन् । अग्रता लिए पनि उनको मत प्रतिशत घट्दै र वाइडेनको बढ्दै गएको अवस्थामा त्यहाँ पनि पारदर्शिताको प्रश्न उठाउँदै मुद्धा दर्ताको घोषणा भएको हो ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार ०७:२२



















