म मृत्युको मुखमा पुगिसकेको थिएँ: बेलायती प्रधानमन्त्री बोरिस जोनसन
वि.सं.२०७७ वैशाख २२ सोमवार १०:४७
1.5K
shares
लण्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरससँग आफ्नो संघर्षको कथा सार्वजनिक गरेका छन् । बेलायतको प्रतिष्ठित पत्रिका द सनलाई दिएको एक अन्तर्वार्तामा उनले आफूलाई चिकित्सकहरुले कयौँ लिटर अक्सिजन दिएर बचाएको खुलासा गरेका छन् ।
‘अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा रहँदा मलाई जीवित राख्नका लागि डाक्टरहरुले कयौँ लिटर अक्सिजन दिएका थिए’, उनले भनेका छन्, ‘अहिले मलाई नै विश्वास लाग्दैन मेरो हालत त्यति खराब थियो, म मृत्युको मुखमा पुगिसकेको थिएँ ।’ कोरोनासँग जुध्ने क्रममा आफ्नो अवस्था केही दिनलाई अत्यन्तै नाजुक भएको उनले सम्झिएका छन् ।
‘जब म आइसीयु मा थिएँ तब मेरो गम्भीर स्वास्थ्य स्थिति देखेर डाक्टरहरुले मलाई मृत घोषित गर्ने तयारी पनि गरिसकेका थिए’, उनले अन्तर्वार्तामा भनेका छन्, ‘डाक्टरहरुले मेरो धेरै ख्याल गरे, स्याहार गरेर मलाई बचाए ।’ कोरोना भाइरसबाट सङ्क्रमित भई उपचारपछि निको भएका उनी गत सोमबारदेखि नियमित काममा फर्किसकेका छन् ।
लण्डनस्थित सेन्ट थमस अस्पतालमा उपचार गराएर ठिक भएपछि उनले काम थालेका हुन् । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैय्यामा बसेका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म २८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १०:४७


















