यस वर्षको फूलपाती बढाइँ साङ्केतिक रूपमा मात्र आयोजना गरिने
वि.सं.२०७७ असोज २४ शनिवार १४:५९
1.7K
shares
काठमाडौँ: यस वर्षको फूलपाती बढाइँ साङ्केतिक रूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले हरेक वर्ष हर्षोल्लासका साथ सैनिक मञ्च टु्ँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ मनाउँदै आएको छ ।
कोरोना भाईरसको सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने नेपाली सेनाले जनाएको छ । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।
स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ । बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछिन् ।
विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित तुल्याइने सेनाले जनाएको छ
अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको र उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको सेनाले जनाएको छ
वि.सं.२०७७ असोज २४ शनिवार १४:५९




















