रकम अपचलन गरेको भन्दै महालक्ष्मी विकास बैंकका तत्कालीन चार जना कर्मचारी पक्राउ
वि.सं.२०८२ साउन २६ सोमवार ०८:००
1.4K
shares
कैलाली: महालक्ष्मी विकास बैंक लिमिटेडको गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा हिनामिना भएको छ । उक्त रकम अपचलन गरेको भन्दै बैंकका तत्कालीन ४ जना कर्मचारी पक्राउ परेका छन् । महालक्ष्मी विकास बैंकको पत्र जाहेरीसहित प्राप्त कागजात र बैंक विवरणको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू घटनामा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका-९ घर भई नगद विभागमा तत्कालीन कार्यरत २९ वर्षीया निर्मला साउँद, बैतडी पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा तत्कालीन कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, डोटी स्थायी घर भई हाल कैलाली भजनी नगरपालिका-७ बसोबास गर्दै शाखा प्रबन्धकका रूपमा कार्यरत ३५ वर्षीय सागर शाही र दार्चुला लेकम गाउँपालिका-१ घर भई कर्जा विभागमा तत्कालीन कार्यरत ३१ वर्षीय धनञ्जय पन्त रहेका छन् ।
केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले मिति २०८२ साउन २४ गते उनीहरूलाई पक्राउ गरी बैंकिङ कसुर मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
बैंकले गरेको आन्तरिक अनुसन्धानबाट ती कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारैजनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेर आवश्यक कारबाहीका लागि प्रहरीको सहयोग खोजेको थियो ।
वि.सं.२०८२ साउन २६ सोमवार ०८:००



















