माछापुच्छ्रे बैंकद्वारा विदेशी साझेदार भित्र्याउने प्रस्ताव पारित
वि.सं.२०७९ पुस २९ शुक्रवार १५:१९
1.6K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले आफ्नो २४औँ साधारण सभा मार्फत विदेशी साझेदार भित्र्याउने प्रस्ताव पारित गरेको छ ।
आफ्नो वार्षिक साधारण सभाको पूर्वघोषित एजेण्डामा भने यो विषय सूचीकृत थिएन । बैंकले यो साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने र नयाँ सञ्चालक समिति निर्वाचित गर्ने विषयलाई मात्रै सूचीकृत गरेको थियो ।
नेपाल राष्ट्र बैंकको लगातारको ताकेता र बैंक तथा वित्तीय संस्थाहरूमा देखिएका अनेकौँ संकटहरुबाट आजित भएर नेपालका वाणिज्य बैंकहरु धमाधम मर्जरमा गइरहेका छन् । आफ्नो वित्तीय अवस्थालाई बलियो पार्न र सबल बैंक बन्नका लागि उनीहरूले गरेको प्रयासले राम्रै प्रतिक्रियाहरू पाइरहेका छन् ।
तर, नेपालका बैंकहरुमा लगानी गर्ने विदेशीहरू यहाँका बैंकमा गरेको लगानीबाट आशातीत प्रतिफल नपाएपछि आफ्नो लगानी फिर्ता लैजाने क्रममा छन् । नेपाल बङ्गलादेश बैंकमा भएको बङ्गाली लगानी र हिमालयन बैंकमा पाकिस्तानी हबीब बैंकले गरेको लगानी फिर्ता भएका घटनाहरू यसका पछिल्ला उदाहरणहरू हुन् । धेरैअघि नै इन्डोस्विच बैंकदेखि श्रीलंकाको सिलोन बैंकसम्मले नेपालबाट आफ्नो लगानी फिर्ता लगिसकेका छन् ।
वि.सं.२०७९ पुस २९ शुक्रवार १५:१९




















