विदेशी लगानी प्रतिवद्धता करिब १५ प्रतिशतभन्दा बढीले घट्यो
वि.सं.२०७७ माघ ११ आइतवार १७:४७
2.1K
shares
काठमाडौं: सरकारले मुलुकमा लगानीको वातावरण बनेको दाबी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी प्रतिवद्धता करिब १५ प्रतिशतभन्दा बढीले घटेको हो ।
चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत वर्ष यही अवधिमा २७ अर्ब ६८ करोड लगानी प्रतिवद्धता आएको थियो ।
चालु आर्थिक वर्षको मंसिरसम्म विदेशी लगानी प्रतिवद्धता २१ अर्ब ११ करोडमा सीमित भएको छ । मंसिरसम्म भएको विदेशी लगानी प्रतिवद्धता गत आवको तुलनामा २२.९ प्रतिशत र उद्योग दर्ता २५ प्रतिशतले कम हो ।
गएको आवको पहिलो ५ महिनासम्म १४४ वटा उद्योगमा कुल २७ अर्ब ३८ करोड २० लाख लगानी भएको थियो । समीक्षा अवधिमा सो लगानी घटेर २१ अर्ब ११ करोड ५० लाख सीमित भएको छ भने उद्योगको संख्या पनि घटेर १०८ मा सीमित भएको छ ।
नेपालमा जलविद्युत्, पूर्वाधार (द्रुत मार्ग, रेलवे, टनेल, केवल कार, मेट्रो रेल, फ्लाइओभर, विमानस्थल), कृषि तथा बनजन्य उद्योग, सेवामूलक क्षेत्र, पर्यटन उद्योगमा विदेशी लगानीलाई प्राथमिकता दिएको छ ।
औद्योगिक व्यवसाय ऐन–२०७५ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएका मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका ठूला उद्योग भनेर विभागले दर्ता गर्छ ।
सरकारले वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली २०७७ कार्यान्वयनमा ल्याएको छ । यसमा भएको केही सुविधाले लगानीकर्ता आकर्षित हुन सक्ने सरकारी पक्षको विश्वास छ ।
आर्थिक २०७३/७४ मंसिरसम्म ३ अर्ब ९९ करोड ८० लाख रहेकोमा अहिले बढेर २१ अर्ब ११ करोड पुगेको छ । त्यसको पछिल्लो वर्ष २०७४/७५ मा बढेर १३ अर्ब १४ करोड लगानी प्रतिवद्धता भएको थियो । विगत ५ वर्षको विदेशी लगानीको प्रतिवद्धतालाई हेर्ने हो भने लगानीमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ । गत आवमा सो लगानी बढेपनि अहिले लगानी घट्यो ।
यो पनि पढ्नुहोस् :
सरकारले राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने
वि.सं.२०७७ माघ ११ आइतवार १७:४७



















