नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित
वि.सं.२०७७ असोज २८ बुधवार १५:०५
1.4K
shares
काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधवार सम्पन्न विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो ।
सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी गत भदौ १७ गते यी दुई कम्पनीविच भएको सम्झौतालाई सभाले अनुमोदन गरेको छ । सिटी प्राप्ती पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको जारी तथा चुक्तापूँजी बृद्धि हुने तथा शेयर स्वामित्व पनि फेरबदल हुने हुदाँ सोहि बमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्ताव सभाले पारित गरेको छ ।
सिटि एक्सप्रेसले पनि बुधवारनै विशेष साधारण सम्पन्न गरी नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । प्राप्ती प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । अब एकिकृत कारोबार सुरु गरेपश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको नामबाट सिटी एक्सप्रेसका लगानीकर्ताहरुको शेयर कारोबार हुनेछ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरपूँजी रू. १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ भने सिटी एक्सप्रेसको रू. ४० करोड रहेको छ । विशेष साधारण सभामार्फत प्रस्ताव पारित गरेपश्चात अब नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले एकिकृत कारोबारका लागि स्वीकृति दिएपछि मात्र यी दुई कम्पनी एक भएर अघि बढ्नेछन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्डको कार्यालय दरबारमार्ग, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत विशेष साधारण सभा आयोजना गरेको हो । सभामा शेयरधनीहरुलाई जुम मार्फत सहभागी गराईएको थियो ।
वि.सं.२०७७ असोज २८ बुधवार १५:०५



















