गणेशराज पोखरेल सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत
वि.सं.२०७५ चैत १२ मंगलवार १८:४४
1K
sharesकाठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गणेशराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको चैत्र ११ गते सोमबार बसेको २९५औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका गणेशराज पोखरेललाई चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका छन् ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् ।
वि.सं.२०७५ चैत १२ मंगलवार १८:४४