अब पाइप लाइनबाट पेट्रोल आउने
वि.सं.२०७७ मंसिर २५ बिहीवार १४:४५
2K
shares
वीरगञ्ज : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउने तयारी गरिएको छ ।
यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो ।
निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी) सँग कुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ ।
कार्यालय प्रमुख भरत रेग्मीले ४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको बताउँदै दुई ट्याङ्कीमध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ जानकारी दिए ।
ट्याङ्की निर्माण भएपछि एक पटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ । ट्याङ्की आगो नलागोस् भनेर तथा आगो लागेपछि सो आगो निभाउन ३०–३० लाख गरी पानी भण्डारण गर्ने दुईवटा ट्याङ्की तयार हुनेछ । साथै अत्याधुनिक प्रयोगशाला र २४ भ्याकरमा एकैपटक पेट्रोल लोड अनलोड गर्ने काम हुने बताईएको छ ।
नेपाल सरकारको करिव रु दुई अर्ब को लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ । साथै निर्माण भइरहेको पेट्रोल ट्याङ्करमा स्वचालित उपकरणबाट जाँच गर्न सकिने जनाइएको छ ।
पाइप लाइनमा पेट्रोल ल्याउन मोतिहारी तर्फ काम सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ । यसैगरी अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार १४:४५




















