म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश
वि.सं.२०७६ फागुन २२ बिहीवार ०९:१३
1.1K
shares
एजेन्सीः म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डे र लेस्टर सिटीले बर्मिङहमलाई समान १–० गोलले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा टोटेनहम नर्विच सिटीसँग पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध हुँदै एफए कपबाट बाहिरिएका छन् ।
सिटीले घरेलु टोलीमाथि ८० प्रतिशत बल पोजेसन राखेपनि खेलको ५३औं मिनेटमा सर्जियो अगुइरोले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा रिकार्डो पेरेराले खेल सकिन ८ मिनेट बाँकी रहँदा गरेको गोल नै लेस्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।
यस्तै टोटेनहम र नर्विचबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नर्विचका एडम उचे इडाह, मार्को स्टेपेरमान र टोड क्यान्टवेलले गोल गर्दा केनी म्याक्लिनले गोल गर्न सकेनन् । टोटेनहमका इरिक डिएर र जियोभानी लो सेल्सोले मात्रै गोल गर्न सफल भए । इरिक लमेला, ट्रोए पारोट र गेड्सन फर्नान्डेले गोल गर्न सकेनन् । त्यसअघि खेलको १३औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा जान भर्टङहेनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा जोसिप डिर्मिकले बराबरी गोल फर्काए ।
वि.सं.२०७६ फागुन २२ बिहीवार ०९:१३



















