YouTube Link

अमेरिकी सहायक रक्षामन्त्री काठमाडौंमा, सुरक्षा व्यवस्थामा सघाउने वचन

Facebook Link

१३ फागुन, काठमाडौं । १५ जेठ ०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । त्यसबेला ०६४ चैतको निर्वाचनबाट सबभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी राष्ट्रपतिको रुपमा अघि सारीसकेको थियो ।

तर, राष्ट्रपति आलंकारिक हुने भएपछि प्रचण्ड उम्मेदवार नबन्ने भए । त्यसपछि माओवादीले घरि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला त घरि नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने भन्यो । तर अन्तिममा माओवादीले दुबैलाई समर्थन नगर्ने भएपछि दलहरूबीच राष्ट्रपतिको बिषयमा असहमति बढ्दै गयो ।

त्यही रस्साकस्सीमा माओवादीले स्वतन्त्र व्यक्तित्व भन्दै गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाउने घोषणा गर्‍यो । अनि दोस्रो ठूलो दल कांग्रेसले मधेसी मूलकै डा. रामवरण यादव र तेस्रो ठूलो दल एमालेले रामप्रीत पासवानलाई उमेद्वार बनायो ।
घर फर्किँदा छोराछोरीमा चुनावको असर परेको देखेँ, उनीहरू रोए । ‘तपाईं सधैं पार्टी पार्टी भनेर हिँड्नु हुन्छ, चुनावमा शून्य भोट किन बाबा ?’ भनेर सोधे

पहिलो चरणको मतदानमा कसैका लागि पनि आवश्यक बहुमत आएन । दोस्रो पटकको मतदानमा डा. यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचित भए । उक्त निर्वाचनमा एमालेका उम्मेदवार रामप्रीत पासवान आफैंविरुद्ध मतदान गर्न बाध्य भएका थिए । पासवानले १० वर्षपछि त्यतिबेलाको आफ्नो मनोदशाबारे अनलाइनखबरकर्मी सन्त गाहा मगरसँग खुलेर कुरा गरेः

अकस्मात उमेद्वार

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि ०६५ साउन ४ गते उम्मेदवारी दर्ता गर्ने दिन थियो, त्यो । म पेप्सीकोलास्थित निवासमै टिभी हेरिरहेको थिएँ । माओवादीले रामराजाप्रसाद सिंहलाई उम्मेदवार उठायो भन्ने समाचार आयो ।

त्यसपछि जुरुक्क उठेर कपडा लगाउँदै थिएँ, कांग्रेसले डा. रामवरण यादवलाई उम्मेदवार बनाएको समाचार पनि आइहाल्यो । अनि एमालेले मलाई उम्मेदवार बनाउँछ भन्ने लाग्न थाल्यो । प्रमुख दुई दलले मधेसी समुदायका उम्मेदवार बनाएपछि तेस्रो ठूलो पार्टी एमालेले मलाई नै उठाउँछ भन्ने मेरो अनुमान थियो ।

नभन्दै, पार्टी अध्यक्ष झलनाथ खनालको फोन आइहाल्यो । उहाँले ‘कहाँ हुनुहुन्छ, तुरुन्तै संसद भवन आउनुपर्‍यो, कमरेड’ भन्नुभयो । मलाई उम्मेदवार बनाउने पक्का भएछ भन्ने लाग्यो, तर सोधिनँ । हिड्नै लाग्दा झलनाथ कमरेडले फेरि फोन गरेर नागरिकता पनि बोकेर आउन भन्नुभयो । अब भने पार्टीले मलाई राष्ट्रपतिमा उठाउन लागेको निश्चित भयो ।

उम्मेदवारी दर्ताको समय सकिन एक घण्टा जति बाँकी थियो, सडकमा निस्केर यसो हेरेको न सार्वजनिक बस चलेका छन् न त ट्याक्सी । अब कसरी संसद भवनसम्म पुग्ने भन्ने चिन्ता लाग्न थाल्यो ।

कांग्रेस समर्थक छिमेकीलाई ‘मलाई संविधानसभा भवनसम्म पुर्‍याइदिनु न’ भन्न गएको एअरपोर्ट जाने एकजना भाइको बाइक पछाडि राखिदिए । कोटेश्वरसम्म त बाटो मिल्थ्यो । राष्ट्रपतिको उम्मेदवार बन्दैछु, समय कम छ, तर आफ्ना बाबु लिन हिँडेका ती भाइलाई संसद भवनसम्म पुर्‍याइदेउ भन्न पनि सकिनँ ।

कोटेश्वरमा ट्याक्सी पाएँ । हतार–हतार सिंहदरबार पुगेर दक्षिण गेटबाट पैदलै पार्टीको संसदीय दलको कार्यालयमा पुगेँ । त्यहाँ संसद सचिवालयका साथीहरूले ‘यहाँ के गर्दैै हुनुहुन्छ ? संसद भवनमा तपाईको खोजी भइरहेको छ’ भन्दा पो झल्यास्स भएँ । संसद भर्खरै नयाँ वानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सरेको थियो, पहिलेको बानीले गर्दा म सिंहदरबार आइपुगेंछु ।

समय २०–२५ मिनेट बाँकी थियो । संसदीय दलको कार्यालय अगाडि थुप्रै गाडी थिए, तर कसैलाई पुर्‍याइदेउ भन्न मन लागेन । फेरि हुर्रिँदै दक्षिण गेट आएर ट्याक्सी चढेँ ।

संसद भवनमा पुग्दा समय पाँच मिनेट मात्र बाँकी थियो । पत्रकारहरुले घेरेर ‘तपाई उम्मेदवार हो ?’ भन्दै सोधे । एकछिनमा भन्छु भन्दै उम्किएँ । उम्मेदवार दर्ता कक्षमा पुग्दा संसद सचिवालयका महासचिवले कहाँ– कहाँबाट मेरो तस्वीरसहित सारा कागजपत्र ठीक्क पारेका रहेछन् । मनोनयन पत्रमा मेरो हस्ताक्षर मात्र बाँकी रहेछ ।

त्यसरी म गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार बनें । कुन हालतमा बनें, बुझिहाल्नु भयो । राष्ट्रपतिजस्तो पदको उम्मेदवार बनाउने विषय त्यति अकस्मात र अस्तव्यस्त थियो ।

मलाई शून्य मत

संविधान सभामा डा. यादव, रामराजाप्रसाद सिंह र मैले मन्तव्य राख्दै मत पनि माग्यौं । त्यहीबीचमा पार्टीले कांग्रेससँग तालमेल गर्ने भएछ, मलाई केही बताइएन । औपचारिकताका लागि मात्र भए पनि उमेद्वारलाई एक वचन सोधेको भए रामप्रित पासवान भन्दा राष्ट्रपति भन्ने पदको गरिमा रहन्थ्यो । मैले पार्टी निर्देशन नमान्ने भन्ने कुरा पनि थिएन ।

पार्टीले सम्झौता गर्दा उम्मेदवारी फिर्ता लिने समय पनि घर्किसकेको थियो । मैले उम्मेदवार सूचिमा आफ्नो नाम हुँदाहुँदै डा. यादवलाई भोट दिएँ ।

मलाई मधेसी जनअधिकार फोरमका सांसदहरूले तपाई पछि नहट्नुस् भनेका थिए । विश्वेन्द्र पासवान, कलावती पासवान लगायतले भोट दिन्छौं भन्दा मैले नदिनू भनें । डा. यादव र सिंहले आफैंलाई भोट हाले । मैले चाहिँ यादवलाई दिएर आफू शुन्य भएँ ।

त्यसपछि मलाई लाग्यो– सबै कुरा नेताले दिए पाउने, नदिए नपाउने रहेछ । उम्मेदवारी दर्ता गर भन्ने, फिर्ता गर भन्न नपर्ने रहेछ । मैले चाहिँ बफादारी देखाइरहनुपर्ने रहेछ, ठीक । सबै कुरा आफैंले भनेजस्तै हुनुपर्छ भन्ने कुरा आएन । मैले नै भोट दिएर डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति बन्नुभयो । म चाहिँ अभागी उमेद्वार मात्र बनेँ ।

घर फर्किँदा छोराछोरीमा चुनावको असर परेको देखेँ, उनीहरू रोए । ‘तपाई सँधै पार्टी पार्टी भनेर हिँड्नु हुन्छ, चुनावमा शून्य भोट किन बाबा ?’ भनेर सोधे । मैले के भन्ने ? राजनीति भनेको यस्तै हो, आफूले भनेजस्तो हुँदैन भनेर सम्झाएँ ।

२५० रुपैँयाको सपना

वि.सं २०१० सालमा सप्तरीको शम्भुनाथमा जन्मिएँ । २०१५ सालमा विद्यालय स्थापना भएकाले पढ्ने अवसर जुर्‍यो । १० कक्षासम्म गाउँमै पढेँ । ०२६ सालमा एसएलसी पास गरेँ ।

तीन वर्षे ओभरसियर कोर्ष गर्न पाटनको पुल्चोक क्याम्पस आएपछि थाहा भयो, त्यो वर्षको एसएलसीमा गोरखाका बाबुराम भट्टराई बोर्ड प्रथम भएका रहेछन् । गाउँका हामीलाई त्यस्तो कुरा थाहा थिएन ।

कुपण्डोलमा डेरा लिएर बसेँ । त्योबेला ऐच्छिक गणित लिएको छ भने दोस्रो श्रेणीले पनि भर्ना पाउने भएकाले म ढुक्क थिएँ, पाएँ पनि । तर, भर्ना हुन २५० रुपैयाँ चाहिने रहेछ । जति गर्दा पनि त्यो रकम जुटाउन नसकेपछि ओभरसियर बन्ने मेरो सपना चकनाचुर भयो ।

अनि उदयपुर गएर मासिक ११० रुपैँया तलव खाने शिक्षक बनें । अढाई सय रुपैँया नभएर पढ्न नपाएको मैले २३ वर्ष शिक्षणमा बिताएँ ।

शिक्षण पेशामा रहेकै बेला ०२७ असारमा मुन्सीलाल दासबाट नेकपा पुष्पलाल समूहको सदस्यता लिएँ । गरिबको पार्टी, वर्गीय हितमा काम गर्ने पार्टी भनेर म कम्युनिष्ट बनेँ ।

त्योबेला कृषि मजदुरको दैनिक ज्याला अढाई सेर अन्न थियो । त्यतिका लागि कृषकहरू बिहानदेखि साँझसम्म साहुको काममा जोतिनुपथ्र्यो । गहुँ, मकै, धान जे भएपनि साढे दुई सेर दिइन्थ्यो ।


यस्तो चलनले कृषि मजदुर ठूलो अन्यायमा परेका थिए । हामीले त्यसविरुद्ध आन्दोलन गर्‍यौं । ज्याला बढाएर तीन सेर पुर्‍याउनु पर्ने र सेरमा होइन किलोमा जोखेर दिनुपर्ने हाम्रो माग थियो । तर, सरकारी तुलोमा जोखेर देऊ भन्दा पनि मान्दैनथे । पञ्च र कांग्रेसीहरू धनी थिए । पञ्चहरूले भारतीय लठैतहरू ल्याए ।

हामीलाई पनि पार्टीको सहयोग थियो । बन्दुक हानाहान भयो ।

राष्ट्रियसभा उपाध्यक्ष

नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएँ । ०५८ असारमा पूर्वाञ्चलको धनकुटा क्षेत्रबाट राष्ट्रियसभा सदस्य जितेर आएपछि पार्टीले साउनमा उपाध्यक्षमा उठायो ।

संसदमा पार्टीको बहुमत थिएन । त्यसैले मलाई उठाएका हुन् कि थाहा छैन । तर, परस्थिति यस्तो बन्यो कि राजाद्वारा मनोनित ९ मध्ये ५ सांसदको मत मलाई आयो । गजेन्द्रनारायण सिंहजीको सदभावनाले पनि मलाई समर्थन गर्‍यो । एमालेबाट विभाजित भएर बनेको माले र राप्रपाको भोट पनि मैले पाएँ । राप्रपाकी चन्दा शाहले आफंै आएर भोट दिन्छु भन्नुभयो ।

मेरो ३२ भोट आयो, कांग्रेसका उमेदवार अशोक कोइरालाले २८ भोट पाउनुभयो । त्यसरी म राष्ट्रियसभा उपाध्यक्ष भएँ ।

शाही निरंकुशता विरोधी आन्दोलनमा सडकमा आएपछि दरबारबाट ‘रोजी मन्त्रालय पाउनुहुन्छ’ भन्ने प्रस्ताव आयो । राष्ट्रियसभामा मनोनित सांसदले पनि मत दिएर उपाध्यक्ष बनाउनुमा राजाको सद्भाव छ भन्ने उनीहरुको भनाइ थियो । तर, म जाने कुरै भएन । जनआन्दोलनपछि अन्तरिम व्यवस्थापिका संसदमा आएँ ।

कम्युनिस्ट नेताले वर्गीय कुरा गर्न छाडे

पहिलो संविधानसभाले संविधान बनाउन सकेको भए दलित, मधेसी, आदिवासी जनजाति समुदायका लागि अहिलेको भन्दा राम्रो हुन्थ्यो । अहिले त कम्युनिष्ट नेताहरूले नै वर्गीय कुरा गर्न छाडे । जातीय कुरामा नेताहरूको जोड देखिन्छ । जाति व्यवस्थालाई पार्टी भन्दा ठूलो ठान्ने प्रवृत्ति देखिएको छ ।

माओवादीले गर्दा जातप्रतिको आस्था जागेर आयो । माओवादीले भनेको जातीय विशेषाधिकारको कुराले जातीय राजनीतिलाई बलियो बनायो । एक हिसाबले जाति व्यवस्था स्थायी जस्तो भइसकेको छ ।

संविधानमा सकारात्मक विभेदको व्यवस्था हुनुपथ्र्यो । राज्यले पछि पारेका समुदायलाई सकारात्मक विभेदको व्यवस्था गर्दा कसैको आँखा बिझाउनु आवश्यक थिएन । मधेसी दलित समुदायहरु दोहोरोमा विभेदमा छन्– एउटा दलित हुनुको र अर्को मधेसी हुनुको विभेद । अहिलेलाई नेतृत्वले यति बुझ्दा पुग्थ्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...