नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै
वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४
1.8K
shares
काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग आज दोस्रो खेल खेल्दैछ । यी दुईबीचको आजको खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने छ । दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको तयारी स्वरूप खेल्न लागेको हो ।
यी दुईबीचको खेल आज अपरान्ह्र ४:४५ बजे हुने छ । खेलमा थाइल्यान्डमाथि जित या बराबरीको नतिजा हासिल गर्न सक्छ भन्ने सन्देश पहिलो खेलमा नेपाली टोलीले दिएको छ । अघिल्लो खेलमा पहिलो हाफमा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भने सम्हालिन सकेन र १-० गोल अन्तरले पराजित हुन पुगेको थियो । वरीयताको हिसाबले हेर्ने हो भने यो कुनै ठूलो हार होइन ।
महिला फुटबल टोलीले २०२६ एएफसी महिला एसियन कपको छनोटअघि सबैभन्दा कठिन मनोवैज्ञानिक परीक्षा दिँदैछ । पछिल्ला दुई महिनामा नेपाली महिला टोलीका अधिकांश खेलाडीहरूले पाँचवटा मोफसल प्रतियोगिता खेलेका छन् । निरन्तर भइरहेको प्रतियोगिताका कारण खेलाडीले पर्याप्त आराम गर्ने मौका पाएका छैनन् । शारीरिक रूपमा थकाउने मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि कमजोर महसुस भइरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्ड भ्रमण तय गरेको छ ।
थाइल्यान्ड दुई पटक फिफा विश्वकप खेलिसकेको टोली हो । हाल विश्व वरीयतामा ४७औं स्थानमा रहेको यो टोली कुनैपनि हिसाबले नेपालका लागि मैत्रीपूर्ण प्रतिद्वन्द्वी होइन । अनुभव, लगानी र संरचना तीनै पक्षमा नेपालभन्दा थाइल्यान्ड अगाडि छ । तर, नेपालका लागि यिनै कुराहरू नाप्ने माध्यम पनि हुन् ।
वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४




















