महिला फुटबलको बन्द प्रशिक्षणमा ३० खेलाडी दोस्रो चरणमा छनोट
वि.सं.२०८१ माघ २८ सोमवार ०६:३३
1.9K
shares
काठमाडौं: इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडीबाट आइतबार ३० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेका छन् ।
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप यही फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालमा हुँदैछ । जसमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनानले खेल्नेछन् । फरवार्ड अमिषा कार्कीसँगै सहारा लिम्बू, हेमा चौधरी, सुकृया मियाँ, सेमिहाङ्मा लिम्बू पन्धाक, मीना देउवा, पुष्पाकुमारी खड्का, यशोदा शाही र झुमा विश्वकर्मा टिमबाट बाहिरिएका हुन् ।
अमिषा नेपाली सेनाको लेफ्टिनेन्टको प्रशिक्षणका लागि भक्तपुरमा रहेकोले उनी राष्ट्रिय टिममा उपलब्ध नहुने भएकी हुन् । त्यहा प्रशिषणमा रहँदा उनले यसअघि पनि एन्फा महिला लिगको केही खेल गुमाएकी थिइन् । अब ३० जनाको टोलीबाट अन्तिम टोली छनोट गरिनेछ । ३० जनाको टोलीमा यसअघि नै राष्ट्रिय टिममा रहेका खेलाडीहरुको बाहुल्य छ । तर यसअघि राष्ट्रिय टिममा रहेका अमिषासँगै हिरा भुजेल र दीपा शाहीले भने यस प्रतियोगिता गुमाउनेछन् ।
यस्तै ३० जना भित्र रहेका सावित्रा भण्डारी साम्बा र रेखा पौडेल तथा कप्तान एन्जिला सुब्बा अहिले विदेशी लिग खेलिरहेका छन् । उनीहरुल प्रतियोगिता हुने बेला मात्र नेपाल आउनेछन् । यी तीन बाहेक अहले नेपालमा अब प्रशिक्षणमा २७ जना उपलब्ध हुनेछन् । ३० जनाको सूचीमा महिला लिग जितेको एपीएफबाटै आधा खेलाडी छन् । यो सूचीमा ५ गोलकिपर, ९ डिफेण्डर, १० मिडफिल्डर र ६ फरवार्ड रहेका छन् । कात्तिकमा साफ च्याम्पियनसिप खेलेयता नेपाली टोली पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।
महिला राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० खेलाडी
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सावित्री किसन, सुजाता तामाङ
डिफेण्डर: अमृता जैसी, गीता राना, विमल विक, पुजा राना मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी
मिडफिल्डर: अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुस्मा तामाङ, मन माया दबाई, बिर्सना चौधरी
फरवार्ड: सावित्रा भण्डारी ‘साम्बा’, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल
वि.सं.२०८१ माघ २८ सोमवार ०६:३३




















