पर्यटन दशक २०२३ देखि २०३२ को अवधारणा परिमार्जन गरेर अगाडि बढ्न व्यवसायीहरुको सुझाव
वि.सं.२०८१ असार १९ बुधवार १७:३७
1.3K
shares
काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३/२०३२) अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेर सुझाव लिएको छ ।
अन्तरक्रियामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले पर्यटन दशकको अवधारणा राम्रो भएपनि बददिंदो समय अनुरुप यसलाई परिमार्जन गरेर लैजाँदा उपयुक्त हुने सुझाव दिईएको छ । उनीहरुले पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भएपनि नीतिगत सुधार तथा पूर्वाधारको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रुपमा केही गर्नु पर्ने आवश्यक्तालाई मध्यनजर गर्दै मन्त्रालयले २०७९ मा बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर कार्ययोजना निर्माण गर्न लगाएको थियो । कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरि २०७९ पुष ७ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेले तयार भएको अवधारणालाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने सरोकारवालाहरुको सुझाव लिन अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले सरकार निजी क्षेत्रको सहकार्यले मात्रै पर्यटन चलायमान बनाउन सकिने समेत बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नु पर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमा माथी निजी क्षेत्रको रायले मार्ग प्रशस्त गर्ने बताएका छन् । मन्त्रालय सह-सचिव ईन्दु घिमिरेले अन्तरक्रिया फलदायी भएको बताउँदै निजी क्षेत्रको सुझावका आधारमा अवधारणा परिमार्जन गरिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीले नयाँ सन्दर्भमा कार्यक्रमलाई परिमार्जन गरेर जाँदा फदायी हुने सुझाव दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी समितीका सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य दीपक महत, पम्फा धमला, घनेन्द्र श्रेष्ठ, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणी थपलिया, एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाराका अध्यक्ष शिव अधिकारी, स्कलका अध्यक्ष महेन्द्रराज पाण्डे, रेवानका अध्यक्ष संर्घष विष्ट, पर्यटन व्यवसायी नरेन्द्र भट्ट, पर्यटनविज्ञ शिव प्रसाद जैशीले वदलिंदो परिवेश अनुसार पर्यटन दशकको कार्यक्रमलाई परिमार्जन गरेर लैजान आग्रह गरेका छन् ।

कार्ययोजनाको खाका प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेनले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुर्याउने, ततपश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको बृद्धि गरी सन २०३२ सम्ममा संख्या ३५ लाख पुर्याउने , र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।

वि.सं.२०८१ असार १९ बुधवार १७:३७




















