लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने
वि.सं.२०८० फागुन १६ बुधवार ०७:२६
2.2K
shares
काठमाडौं: नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जाली चुमेको थियो ।
नेपालले खेलको ३८औँ मिनेटमा आत्मघाती गोल खाएको थियो । पूजा रानाले गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्यो । सावित्रा भण्डारीले नेपालका लागि ७६औं मिनेटमा बराबरी गोल फर्काइन् । खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।
नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

वि.सं.२०८० फागुन १६ बुधवार ०७:२६




















