श्री लक्ष्मीरूपी चाँदीको कलश बोक्दै चाँगुनारायण मन्दिरदेखि काठमाडौँको हनुमानढोकासम्मको पैदल यात्रा सम्पन्न
वि.सं.२०८० माघ १२ शुक्रवार ०९:५५
2K
shares
काठमाडौं: श्री चाँगुनारायण तथा दायाँ-बायाँ श्री सरस्वती र श्री लक्ष्मीरूपी चाँदीको कलश बोक्दै चाँगुनारायण मन्दिरदेखि काठमाडौँको हनुमानढोकासम्मको पैदल यात्रा सम्पन्न भएको छ ।
चाँगुनारायण मन्दिरदेखि खालि खुट्टा र शुद्ध भई हिँडाएर ल्याइने चाँगुनारायण जात्राका कलशहरूलाई बाटोमा पनि कसैले छुन हुँदैन । ती कलशहरूमा चाँगुनारायणको शक्ति सहितको शुद्ध जल हुन्छ र काठमाडौँको हनुमानढोकास्थित तलेजु मन्दिरमा दुबै देवस्थानहरूको पूजा साटासाट गरेपछि राष्ट्रप्रमुखले सो कलशमा छायाँ दर्शन गर्ने प्रचलन छ ।
पहिले राजतन्त्रकालमा राजाले यसरी छायाँ-दर्शन गर्दथे भने हाल गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिले छायाँ-दर्शन गर्ने प्रचलन छ । राजालाई नारायणको स्वरूप मानिन्थ्यो, त्यसैले चाँगुनारायणको कलशमा स्थापित दैवी शक्ति राष्ट्रप्रमुखलाई नै स्थापित होस् भनेर यो प्रचलन चलाइएको हो । यस जात्रामा राष्ट्रप्रमुख नै सहभागी हुनुपर्ने मान्यता छ । अन्य राजनीतिक अवस्थामा राष्ट्रपति बाहिर हुँदा उपराष्ट्रपति अथवा अन्यले प्रतिनिधित्व गर्ने चलन भएता पनि यस जात्रामा भने राष्ट्रप्रमुख आफै सहभागी हुनैपर्ने बाध्यकारी प्रचलन छ ।
जात्राको इतिहास कोट्याउने हो भने यो जात्रा लिच्छविकालीनदेखि सुरु भएको देखिन्छ । झण्डै १४औँ शताब्दीमा लेखिएको गोपालराजवंशावलीको ३० (ख) पानामा श्री पुष्पदेवका पालामा दुधे कर्कलोका कारण महामारी फैलिएकोले यसको शान्ति गर्नका लागि श्री चाँगुनारायणलाई सो कर्कलो चढाइएको उल्लेख छ । यसै बमोजिम अद्यापि यसै दिन चाँगुनारायणलाई कर्कलो चढाई कलशयात्रा गराइन्छ ।
सो कलशजात्रा चाँगुनारायण मन्दिरबाट डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, नक्साल, कमलादी हुँदै जमल पुर्याइन्छ । जमलमा रानीपोखरी नजिकको जगत नारायण मन्दिरको पाटीमा यात्राले केहीबेर विश्राम लिन्छ । जमलमा जात्राका स्वागत गर्नका लागि गुरुज्यूको पल्टन, मल्ल राजाको प्रतीक खड्ग र हनुमानढोका दरबारका महाने आउनुपर्ने चलन छ । सो क्रममा हुनमानढोका दरबारबाट पूजा पनि पठाइन्छ । चाँगुनारायणको पुजारीले जमलको सो जगत नारायण मन्दिरमा कलशपूजा गर्नुपर्छ । सो अवसरमा गुरुज्यूको पल्टनले चाँगुनारायणको नाममा सलामी चढाउने गर्दछन् ।

त्यसपछि पुनः यात्रा सुरु हुन्छ, पृथ्वीनारायण शाहकालीन गुरुज्यूको पल्टन अघि-अघि, त्यसपछि पुजारीले चाँगुनारायणको कलश बीचमा र भँडेल सहयोगीद्वयले दायाँ-बायाँ लक्ष्मी र सरस्वतीको कलश बोक्दै, पछाडि महानेले कसैले कलशलाई नछोओस् भन्ने हेतुले लठ्ठीले छेक्दै, कलश पछाडि मल्ल राजाका प्रतीक खड्ग र सबैभन्दा पछाडि भक्तजनको लस्कर सहित जमल, कमलाक्षी, असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन र हनुमानढोका दरबारसम्म यात्रा अघि बढ्छ ।
बाटोमा भक्तजनले कलश नछोइ पूजा गर्छन् र दक्षिणा चढाउँछन् । हनुमानढोका पुगेपछि तलेजुको ठूलो मूलद्वारबाट भित्र जानुपर्ने चलन छ । दरबार अगाडि काठमाडौँको तलेजु मन्दिरका मूलपुजारीले जीवित देवी श्रीकुमारीको उपस्थितिमा उक्त जात्रालाई लसकुस अर्थात् स्वागत गर्दछन् । तलेजुका पुजारीले फलामको साँचो चाँगुनारायणका पुजारीलाई समात्न दिई हनुमानढोका दरबारभित्र तलेजु मन्दिर भएको त्रिशूल चोक हुँदै मूल चोक र इनार चोकमा लग्नुपर्ने परम्परा छ । त्यहाँ एक ढुङ्गाको आसनमा तीनवटै कलश बिसाइएपछि तलेजुका पुजारी यजमान र चाँगुनारायणका पुजारी पुरोहित भई पुनः कलश पूजा गर्नुपर्ने हुन्छ ।

सो क्रममा हनुमानढोकाबाट खटाइएका अर्का पुजारीले पनि उक्त कलश पूजा गर्छन् र चाँगुनारायणसँग नरिवल र पूजा साटासाट गर्छन् । उक्त पूजापश्चात् सबैलाई फूल र टीका दिएपछि यात्रा राष्ट्रपतिकहाँ लगिन्छ । प्रत्येक वर्ष दुईपटक चाँगुनारायणको कलशजात्रा यसरी नै हनुमानढोका दरबार र राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिसम्म पुर्याइन्छ ।
भिडियो सहितः
वि.सं.२०८० माघ १२ शुक्रवार ०९:५५




















