एसियाडमा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग खेल्दै
वि.सं.२०८० असोज १० बुधवार ०७:०८
2.3K
shares
काठमाडौं: १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग खेल्दैछ ।
नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान पौने ७ मा सुरु हुनेछ । नेपाली टिम आइतबारै चीन पुगिसकेको छ । ललित राजवंशी घाइते भएपछि टोलीमा सामेल गरिएका सागर ढकाल मंगलबार मात्रै चीन गएका छन् । यस्तै अदालतले मुद्दा स्थगित गरेपछि सन्दीप लामिछाने पनि त्यसतर्फ गएका छन् ।
समूह ‘ए’ को नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । समूह ‘ए’, ‘बी’ र ‘सी’ का शीर्ष १–१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् ।
एसियाडमाको चौंथो दिन मंगलबार नेपालले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गर्दा पदकको खाता खोल्न सकेन् । नेपालले मंगलबार एकलतर्फ स्क्वास, तेक्वान्दो, उसु, जुडो, पौडी, बक्सिङ, र टेनिस तथा टिम इभेन्ट्समा रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको हो ।
रग्बी सेभेन्समा नेपाल जितविहिन हुँदै घर फर्किने भएको छ । यस विधामा पहिलो पटक एसियाडमा प्रतिस्पर्धा गरेको नेपालले समुह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच ९ देखि १३ औं स्थानका लागि भएको सबै खेलमा हार व्यहोर्यो । प्रतियोगितामा नेपाल ६ खेल खेल्दा एक खेल पनि जित्न सकेन । १३ टोली सहभागी प्रतियोगितामा नेपाल पुछारमा रह्यो ।
नेपालबाट २९ खेलमा १२७ महिला र १२६ पुरुष गरि २५३ खेलाडीले सहभागिता जनाएका छन् । टिम इभेन्ट्समा मात्र १०५ जना नेपाली खेलाडी सहभागी छन् ।
नेपापले सन् १९५१ मा भारतमा भएको पहिलो संस्करणदेखि एसियाडमा सहभागी हुँदै आएको छ । फिलिपिन्समा भएको दोस्रो र इण्डोनेसियामा भएको चौंथो संस्करणबाहेक सबैमा सहभागी हुँदा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । ७२ वर्षे एसियाडको इतिहासमा नेपालले २ रजत र २२ कास्य सहित कुल २४ पदक जितेको छ ।
चीनले पदक तालिकामा आफ्नो दबदबा कायमै राखेको छ । खेलको चौथो दिन सकिँदा चीनले चीनले ५३ स्वर्ण सहित ९५ पदक जितेको छ । उसले २९ रजत र १३ कास्य जितेको छ । पदक शीर्ष स्थानमा छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले १४ स्वर्ण, १६ रजत र १९ वटा कांस्य पदक जितेको छ ।
जापानले ८ स्वर्ण, २० रजत र १९ वटा कांस्य पदक जितको छ । उज्वेकिस्तानले ५ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको छ भने हङकङ ५ स्वर्ण, ४ रजत र १० कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । दक्षिण एसियाली देश भारतले ३ स्वर्ण पदक जतेको छ । ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेको छ । खेलमा सहभागी ४५ देशमध्य एक स्वतन्त्रसहित १४ देशले स्वर्ण प्राप्त गरेका छन् ।
वि.सं.२०८० असोज १० बुधवार ०७:०८




















