रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
वि.सं.२०८० जेठ १४ आइतवार १२:३१
1.4K
shares
काठमाडौं: टीकापुर हत्याकाण्डको मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद पाएका रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
चौधरीको असल चाल चलन भएको भनेर कारागार व्यवस्थापन विभागबाट पत्र प्राप्त भएको र कैद मिनाहा दिने अभ्यास रहेको भन्दै मन्त्रिपरिषद् बैठकले चौधरीलाई जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा सरकारमा छन् । जेठ १५ गते (सोमबार) गणतन्त्र दिवसको अवसरमा चौधरीलाई जेलमुक्त गर्ने सरकारको योजना छ ।
यसअघि राष्ट्रपति पौडेलले कैद माफीका लागि पुगेको पत्रबारे केही प्रश्न गर्दै प्रष्टताका लागि फिर्ता पठाएका थिए । जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी र माफी दिने निर्णयविरुद्ध पीडितको निवेदन समेत परेको कुरा जानकारी गराएका थिए ।
उक्त फाइलमा पुन: निर्णय गर्दै मन्त्रिपरिषद्ले माफीका लागि सिफारिस गरेको हो । राष्ट्रपति पौडेलेले माफी दिए चौधरी कैदमुक्त हुने छन् ।
वि.सं.२०८० जेठ १४ आइतवार १२:३१



















