प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण लिँदै
वि.सं.२०७९ पुस ७ बिहीवार ०७:५५
2.2K
shares
काठमाडौं: प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे शपथ ग्रहण गर्दैछन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले दिएको सांसदहरूको सूचीमा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख भएपनि उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सचिवालयले राष्ट्रपतिलाई बुझाएको नामको आधारमा बुधबार राणाले शपथ लिएका हुन् ।
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।
प्रतिनिधिसभा सांसदको शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई भोलि १२ बजे शंकर हलमा बोलाएका हुन् । बैठकपछि राणाले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराउनेछन् ।
यसैबीच नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको हो ।
एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई सर्वसम्मत चयन गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरुले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी छन् । सोही अनुसार पुस ७ गते सांसदहरुको शपथ हुन लागेको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसले ८९ एमालेले ७८ सिट जितेका छन् । माओवादीले ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ सिट जितेका छन् । स्वतन्त्रले ५ सिट जितेका छन् ।
वि.सं.२०७९ पुस ७ बिहीवार ०७:५५




















