तिहारको आज गोवर्धनपूजा, गोरु पूजा गरिं मनाईदै
वि.सं.२०७९ कात्तिक ९ बुधवार ०८:३७
3.5K
shares
काठमाडौं: आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ ।
भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ ।
गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ । यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।
उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेष अनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ । उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ ।
बुधबार नै गोरुको पनि पूजा गरिँदैछ । गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ । नेपालजस्तो पहाडी भू-भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ ।
गोवर्धनपूजालाई हलीतिहार पनि भनिन्छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार २३:३० घडी अर्थात् अपराह्न ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा तिथि छ ।
वि.सं.२०७९ कात्तिक ९ बुधवार ०८:३७



















