रामेछापमा योजनाबद्ध विकासको काम एमालेबाट मात्र सम्भव छ (भिडियो सहित)
वि.सं.२०७९ कात्तिक ८ मंगलवार १४:४४
3.8K
shares
काठमाडौं: रामेछापबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका नेताहरूले रामेछाप जिल्लाको योजनाबद्ध विकासको योजना आफूहरूसँग रहेको बताएका छन् ।
आगमी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाश ढुङ्गेल र प्रदेश सभा सदस्यका उम्मेदवार शान्तिप्रसाद पौडेल र मिलनकुमार घिसिङले रामेछाप विकासको गुरुयोजना आफूहरूसँग रहेको बताए ।
रामेछाप काठमाडौं पत्रकार समाजले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनीहरूले रामेछाप विकासको मास्टर प्लान आफूहरूसँग रहेको बताएका हुन् ।
जिल्लाको योजनाबद्ध विकासको जग आफू जिल्ला विकास समितिको सभापति हुँदा बसाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले बताए । ढुङ्गेलले आफू वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहँदा जिल्लाको विकासमा धेरै काम गरेको उदाहरण पेश गरे ।
आफ्नो पालामा जिल्लामा ७० किलोमिटर सडक कालोपत्रे भएको उनले सुनाए । त्यस्तै पुल, कवर्ड हल, चिस्यान केन्द्र, अस्पताल, विद्यालय, खानेपानी, कृषि लगायतका क्षेत्रमा काम भएको ढुङ्गेलले सुनाउनुभयो । आफूले सुरु गरेका कतिपय योजना गठबन्धनले काटिदिएको बताउँदै ती काम पूरा गर्न र विकासका नयाँ काम गर्न आफूले उम्मेदवारी दिएको ढुङ्गेलले बताए ।
प्रदेश (क) का उम्मेदवार शान्तिप्रसाद पौडेलले रामेछापको योजनाबद्ध विकासको गुरुयोजना एमालेको जिल्ला विकास समिति बन्दा २०५४ सालबाट सुरु भएको बताए । विधिको शासन, सुशासन र जनमैत्री कानुन निर्माणको लागि आफू प्रदेश सभामा जान लागेको बताए ।
त्यस्तै प्रदेश सभा (ख) का उम्मेदवार मिलनकुमार घिसिङले आफ्नो सामाजिक क्षेत्रको अनुभव राजनीतिक क्षेत्रमा मिसाएर नागरिकको सेवा गर्न निर्वाचनमा होम्मिएको बताए । आफू निर्वाचित भएपछि पछाडि पारिएका समुदायको हितमा सधैँ काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
वि.सं.२०७९ कात्तिक ८ मंगलवार १४:४४



















