मेयर बालेन र बाबुरामबीच भेटवार्ता, शहरी विकासबारे छलफल
वि.सं.२०७९ असार २४ शुक्रवार १७:१४
2.9K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
बालेन अध्यक्ष डा. भट्टराईलाई भेट्न शुक्रवार उनकै निवास टोखा पुगेका थिए ।
मेयर बालेनसँगको भेटको तस्बीर डा. भट्टराईले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उनले मेयर बालेनसँग महानगरपालिकाको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको जानकारी दिएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !’
काठमाण्डौ मानपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श! सफलताको हार्दिक शुभकामना ! pic.twitter.com/hkmgep6A84
— Baburam Bhattarai (@brb1954) July 8, 2022
बालेन स्वतन्त्र उम्मेदवार भई काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएलगत्तै उनले सबैजसो प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।
मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
शपथ लिएपछि उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरेका थिए ।
अन्य नेताहरूलाई निर्वाचन सकिएको केही समयमै भेटेका उनी जसपा अध्यक्ष डा. भट्टराईलाई भेट्न भने ढिलो गरी मात्र गएका हुन् ।
निर्वाचन सम्पन्न भएको २ महिना बित्न लाग्दा भट्टराईलाई भेट्न बालेन उनकै निवास पुगेका हुन् ।
केही दिनअघि पूर्व प्रधानमन्त्री भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका थिए ।
वि.सं.२०७९ असार २४ शुक्रवार १७:१४




















