बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
वि.सं.२०७९ असार ६ सोमवार १७:०४
2.6K
shares
काठमाडौं: एसिसी महिला टि-२० च्याम्पियनसिपमा नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
१५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाइन् ।
ओपनर इन्दु बर्मा रोयल डक आउट भइन् । रुविना क्षेत्रीले ८ बल खेल्दा खाता खोल्न सकिनन् । कविता जोशीले १० बलमा ३ रनमा अविजित रहिन् । ८ रन नेपालले अतिरिक्त पायो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो ।
बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् ।
नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।
नेपाल शीर्ष दुईमा रहँदै समूह बी बाट सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।
समूह बी मा अव हङकङ र कुवेत मध्य एक टोली सेमिफाइनलमा भिड्नेछन् । हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ ।
समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।
फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि-२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् ।
वि.सं.२०७९ असार ६ सोमवार १७:०४



















