पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरिदिए संसद विघटन
वि.सं.२०७८ चैत २० आइतवार १४:५५
2.6K
shares
काठमाडौं: पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन् ।
अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ ।
इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद विघटन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
राष्ट्रपतिले संसद विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने भएको छ ।
प्रधानमन्त्री खानले आफू अल्पमतमा परेपछि विरोधीहरूलाई विदेशीको पैसा लिएर सरकारविरूद्ध षडयन्त्र गरेको आरोप लगाएका छन् ।
३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ। खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसद मात्रै छन् । खानले गठबन्धन बनाएर बहुमत पुर्याएका थिए ।
उनलाई गठबन्धनकै केही दलले दिएको समर्थन फिर्ता लिएका छन् भने आफ्ना पार्टीका केही सांसदले पनि उनलाई विश्वासको मत नदिने बताएका थिए ।
संसदमा विश्वासको मत पाउने सम्भावना नभएपछि खानले संसद विघटन गरिदिएका हुन् ।
विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन् ।
वि.सं.२०७८ चैत २० आइतवार १४:५५




















