नायक पल शाहविरुद्ध प्रहरीमा जाहेरी
वि.सं.२०७८ फागुन ११ बुधवार १७:५२
2.6K
shares
काठमाडौं: नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
नाबालिग गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी दर्ता गरेकी हुन् ।
नायक पलले एउटा कुराकानीमा ती नाबालिगसँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो ।
नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ ।
पल र ती नाबालिगबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् ।
उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।
यस्तै, नाबालिगले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो ।
पलले आफ्ना पुरुष साथीहरूले ती नाबालिगलाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा ती नाबालिग पुगेकी हुन् ।
जाहेरीमा नाबालिगले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् ।
कानूनबमोजिम शाहलाई कडा सजायको माग ती नाबालिगले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।
अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ ।
यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । ती नाबालिगले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् ।
त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।
यस्तो छ जाहेरी बिबरण :
निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हुन नसकेको रहेछ ।
यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने, समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।
छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सुतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।
छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।
वि.सं.२०७८ फागुन ११ बुधवार १७:५२



















