आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटमा ओमानमाथि नेपालको सानदार जित
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:०४
2.9K
shares
काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा ओमानविरुद्ध ३९ रनको जित निकाल्दै सानदार सुरुवात गरेको छ ।
नेपालले खराब ब्याटिङका साथ सामान्य लक्ष्य दिएपनि बलिङमा राम्रो सुरुवात गरेको हो ।
११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रन मात्र जोड्न सक्यो ।
ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए ।
अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे । कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए ।
कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शुन्य रनमा क्याच आउट गराएका थिए ।
दोस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले अयान खानलाई आशिफ शेखबाट क्याच गराए ।
जातिन्दर सिंह छैठौं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।
सन्दीप लामिछानेले सातौं ओभरको चौथों बलमा खबर अलीलाई बोल्ड गरे ।
दिपेन्द्र सिंह ऐरीले जिसन मक्सुदलाई आठौं ओभरको पाँचौ बलमा कुशल भुर्तेलबाट क्याच गराए ।
अविनाश बोहराले सोएब खानलाई आशिफ शेखबाट क्याच आउट गराए ।
सन्दीपले नसिम खुसीलाई १३ औं ओभरको पाँचौ बलमा बोल्ड गरे ।
दिपेन्द्रले आमिर कलिमलाई १४ औं ओभरको तेस्रो बलमा एलबिडब्लु आउट गराए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्न सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।
लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । विलाल खानले दुई–दुई विकेट हात पारे ।
फयाज बट, जिसन मक्सुदले एक–एक विकेट लिए । ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो ।
ओमानका विलाल खानले पहिलो ओभरको छैठौं बलमा आशिफ शेखलाई खवारी अलीबाट क्याच गराए ।
विलालले तेस्रो ओभरको चौथों बलमा कुशललाई पुनः खवारीद्धारा क्याच गराएका थिए ।
फयाज बटले भने ज्ञानेन्द्रलाई सातौं ओभरको पाँचौ बलमा बोल्ड गरे ।
दिपेन्द्रलाई कप्तान जिसन मक्सुदको नवौं ओभरको तेस्रो बलमा नसिम खुसीले स्टम्पीङ गरेका थिए ।
खवार अलीले भने लोकेशलाई १४ औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याचआउट गराएका थिए ।
खवारले विवेकलाई १६ औं ओभरको अन्तिम बलमा फयाज बटबाट क्याच गराएका थिए ।
कमललाई खबारले १८ औं ओभरको दोस्रो बलमा कश्यप प्रजापतिबाट क्याच गराए ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:०४



















