निर्वाचन आयोगले जारी गर्यो २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
वि.सं.२०७८ माघ ६ बिहीवार १५:३३
2.7K
shares
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गर्दै विज्ञप्ती जारी गरेको छ ।
कोभिड-१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन यही माघ १२ गते हुँदैछ ।
आयोगले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ ।
आयोगको निर्देशन अनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ ।
मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।
यस्तै मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ ।
भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
विज्ञप्तिसहित
वि.सं.२०७८ माघ ६ बिहीवार १५:३३




















