क्यानको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका ४ क्रिकेटरले गरे पत्रकार सम्मेलन
वि.सं.२०७८ पुस २ शुक्रवार १७:५४
2K
shares
काठमाडौं: कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका ४ क्रिकेटरले नेपाल क्रिकेट संघ (क्यान)को निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
आज पत्रकार सम्मेलन गर्दै कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन् ।
यति बेला आफूहरू टि-२० ग्लोबल क्वालिफायर र डब्लुडब्लुजस्ता महत्वपूर्ण प्रतियोगिताको तयारीमा व्यस्त हुनुपर्ने ठाउँमा आफैं स्पष्टीकरण दिइहिँड्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले दुख व्यक्त गरेका छन् ।
क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाडीहरुले अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा उनीहरूले भनेका छन्, ‘नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरूले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो। क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो । तर क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरूले पनि त्यसबारे सञ्चार माध्यममा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’
आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरूले प्रश्न गरेका छन् ।
‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका वर्षे खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?,’ उनीहरूले भनेका छन् ।
वि.सं.२०७८ पुस २ शुक्रवार १७:५४



















