कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप शुक्रबारदेखि दिईदै
आफूलाई पायक पर्ने काठमाडौं जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह
वि.सं.२०७८ साउन २० बुधवार १३:३९
2.9K
shares
काठमाडौं: कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप शुक्रबारदेखि दिन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो ।
गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले बताएको छ ।
दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो ।
स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
“२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभरि खोप अभियान सञ्चालन गर्ने,” विभागको परिपत्रमा भनिएको छ ।
आफूलाई पायक पर्ने काठमाडौं जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् ।
मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्न समेत आग्रह गरेको छ ।
अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ साउन २० बुधवार १३:३९


















