सर्वदलीय बैठकमा सभामुखमाथि प्रधानमन्त्रीको आक्रोश, एमसिसीबारे संसद्मा छलफल गर्न कांग्रेसको आग्रह
वि.सं.२०७८ वैशाख ४ शनिवार १४:१९
1.4K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् ।
बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सञ्चारकर्मीसँग ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको बताए ।
उनका अनुसार बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भन्ने सुझाव पनि मागेका थिए ।
आफूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रणलगायत महत्त्वपूर्ण काममा लाग्न सुझाव दिएको डा. लोहनीले बताए ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा एमसिसीबारेमा संसदमा छलफल गर्नुपर्ने बताएको छ ।
बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘बैठकमा कोरोना, रिक्त पदको उपनिर्वाचन, एमसिसीको विषयमा पास गर्नका लागि सहमति कसरी गर्ने ? अहिलेको परिस्थितिमा राष्ट्रिय सहमति गर्ने बारेमा छलफल भयो ।’
विवादास्पद एमसिसी कांग्रेस सरकारको पालमा सहमति भएकाले सरकारले संसदमा ल्याउनुपर्ने बताए । उनले भने, ‘एमसिसीको बारेमा पनि हामीले प्रष्ट गरेका छौँ । हाम्रो सरकारले ल्याएका हो । संसदमा छलफल गर्नुपर्छ ।’ सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्नका लागि सुझाव दिएको समेत बताए ।
रिक्त रहेको स्थानमा उपनिर्वाचन र उपसभामुखको निर्वाचन गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए । उनले भने, ‘संसदलाई सरकारले बिजनेस किन दिइएन ? राष्ट्रियसभा किन बोलाइएन ? कुर्सीभन्दा व्यवस्था जोगाउतिर ध्यान दिऔँ ? यसमाथि खेलबाड किन ? देशलाई निकास चाहिन्छ भन्ने हाम्रो हो ?’
ओलीलाई आफ्नो कुर्सीभन्दा व्यवस्था जोगाउनतिर लाग्नका लागि आग्रह गरेको समेत बताए ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५६० पुग्यो
वि.सं.२०७८ वैशाख ४ शनिवार १४:१९




















